सिन्धुपाल्चोक–२ मा त्रिपक्षीय भिडन्त, १८ उम्मेदवारको प्रतिस्पर्धा

चौतारा, २१ माघ ।  सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यस क्षेत्रमा मुख्य तीन पार्टीका उम्मेदवारसहित कुल १८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

नेकपा (एमाले) का शेरबहादुर तामाङ, नेपाली कांग्रेसका वंशलाल तामाङ र नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल प्रमुख प्रतिस्पर्धीको रूपमा रहेका छन्। यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका झलकबहादुर श्रेष्ठ र अन्य स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन्।

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट उम्मेदवार बनेका मोहनबहादुर बस्नेतले ३९,३८१ मतसहित विजय हासिल गर्नुभएको थियो। निकटतम प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले २७,५१५ मत ल्याउनुभएको थियो।

यसपटक, एमाले र कांग्रेस दुवै पार्टी आफ्नो प्रतिष्ठा जोगाउने लक्ष्यका साथ चुनावी अभियानमा सक्रिय छन्। नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले राष्ट्रिय राजनीतिमा स्थापित हुने लक्ष्यसहित चुनावी मैदानमा होमिनुभएको छ। उहाँले विकास निर्माण र जनसमर्थनलाई आफ्नो प्रमुख आधार बताउनुभएको छ।

एमालेका शेरबहादुर तामाङले पार्टीको सुदृढ संगठन, भौगोलिक पहुँच र अनुभवलाई चुनाव जित्न महत्वपूर्ण ठानेका छन्। उनले मेलम्ची क्षेत्रको विकास, खानेपानी व्यवस्थापन लगायतका मुद्दालाई प्राथमिकतामा राख्ने बताउनुभएको छ।

नेपाली कांग्रेसका वंशलाल तामाङले स्थानीय तहमा पार्टीको बलियो उपस्थिति आफ्नो जितको आधार भएको बताउँदै आर्थिक समृद्धि र स्थानीय विकासलाई चुनावी एजेन्डामा राख्नुभएको छ।

जिल्ला चुनावी वातावरण अनुसार सिन्धुपाल्चोक–२ मा उम्मेदवारबीच प्रतिस्पर्धा थप तीव्र र रोचक हुने देखिन्छ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  २१ : ०४  बजे