सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

काठमाडौं, २१ माघ । निर्वाचन आयोगले सामाजिक सञ्जालको दुरूपयोगमार्फत निर्वाचनको माहौल धमिल्याउने प्रयास हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त श्री रामप्रसाद भण्डारीले निर्वाचन प्रक्रियामा प्रविधिको दुरूपयोग हुनसक्ने सम्भावनाप्रति आयोग सजग रहेको बताउनुभयो। उहाँका अनुसार प्रविधिको गलत प्रयोगले निर्वाचन प्रक्रियामा गम्भीर असर पार्न सक्ने भएकाले आयोगले सम्भावित जोखिमहरूको आँकलन गर्दै पहिचानसमेत गरिसकेको छ।

“प्रविधिको दुरूपयोगले निर्वाचनलाई दखल पार्ने, बिथोल्ने र निर्वाचनको वातावरण नै धमिल्याउने प्रयास विभिन्न तवरबाट हुन सक्छ,” कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो।

निर्वाचनको नैतिकता कायम राख्न तथा भ्रामक प्रचार–प्रसार नियन्त्रण गर्न निर्वाचन आयोग र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको उहाँले जानकारी दिनुभयो।

विश्व समुदायको नजर नेपालको निर्वाचनतर्फ रहेकाले निर्वाचनलाई सहयोग पुर्‍याउने उद्देश्यले टिकटकबाट प्राप्त सहयोग सराहनीय रहेको उहाँको भनाइ छ।

यसैबीच, टिकटकका प्रतिनिधिले निर्वाचनको निष्पक्षता सुदृढ गर्ने तथा सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित वातावरण उपलब्ध गराउने लक्ष्यसहित आयोगसँग सहकार्य गरिएको स्पष्ट पार्नुभएको छ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  २० : ४२  बजे