सरकारले दुई चरणमा निर्वाचन गरेर षडयन्त्र रच्न खोजेको एमाले सचिव बस्नेतको आरोप

काठमाडौँ, २१  माघ ।  नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दुई चरणमा निर्वाचन गरेर षडयन्त्र रच्न खोजेको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौं उपत्यकाका सूर्य चिन्हका उम्मेदवारसँग संवाद कार्यक्रममा बोल्दै सचिव बस्नेतले राष्ट्रिय सभामा प्रधानमन्त्रीको सम्बोधनपश्चात निर्वाचनमा षडयन्त्र गर्न खोजेको आरोप लगाउनुभएको हो ।

कसैको एजेण्डा स्थापित गर्न सरकार माध्यम बन्न लागेको उल्लेख गर्नुभयो । बस्नेतले हिमाली जिल्लामा अहिले निर्वाचन सम्भव छैन भन्ने देखाएर सरकारले नै मतपेटिका राखेर चलखेल गर्ने, गम्भीर धाँदली गर्ने तयारीमा रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारका गतिविधिले नै निर्वाचनस्वच्छ हुन नसक्ने देखिएको बताउनुभयो ।मंगलबार प्रधानमन्त्री सुशिला कार्कीले मौसम अनुकूल नभएमा दोस्रो चरणमा चुनाव गर्ने धारणा ब्यक्त गर्नुभएको थियो । नवलपरासी (बर्दघाट सुस्ता) पूर्वमा सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले फागुन २१ को निर्वाचनका बेला हिमाली जिल्लाहरूमा बढी चिसो बढे दोस्रो चरणमा चुनाव हुने बताउनुभएको हो ।

भक्तपुरबाट एमालेको सांसदको उम्मेदवार बनेका बस्नेतले सार्वजनिक सत्ता जोगाउने विषय अहिलेको प्राथमिकता रहेकाले एमाले त्यसतर्फ लागि परेको बताउनुभयो । उहाँले भदौ २३ गतेको २ बजेसम्म शान्तिपूर्ण जेनजीको आन्दोलनलाई एमालेले समर्थन गरेको बताउनुभयो । उहाँले २ बजेपछि र भदौ २४ गतेको घटनालाई आपराधिक घटनाको रुपमा लिएको उल्लेख गर्नूभयो । अहिले जनताका एजेण्डा स्थापित भन्दा पनि साम्राज्यवादी मुलुकका एजेण्डा सामाजिक सञ्जालबाट स्थापित गर्ने प्रयास भइरहेको धारणा राख्नुभयो । उहाँले नेपालमा निर्वाचनबाट नयाँ जेलस्की उत्पादन गर्ने तयारी भइरहेको आरोप लगाउनुभयो ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  १३ : २७  बजे