सुकुम्बासी विषयमा बालेन्द्र शाहको धारणा चर्चामा, गायिका ज्योति मगरको टिप्पणीले बहस चर्कियो

काठमाडौं, २१ माघ ।  काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख तथा झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले सुकुम्बासीसम्बन्धी विषयमा सार्वजनिक रूपमा व्यक्त गर्नुभएको पछिल्लो धारणा राजनीतिक र सामाजिक वृत्तमा चर्चाको विषय बनेको छ । सोही सन्दर्भमा गायिका ज्योति मगरले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गर्नुभएको छ ।

निवर्तमान प्रमुख शाहले मंगलबार झापाको कमल गाउँपालिकास्थित सुकुम्बासी बस्तीमा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्दै सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । उहाँले काठमाडौं महानगरपालिकामा प्रमुख रहँदा खोला किनारका बस्तीहरू हटाउने प्रयास बाढीको जोखिमबाट जोगाउने उद्देश्यले गरिएको स्पष्ट पार्नुभएको थियो । साथै, झापामा सुकुम्बासी हटाउने कुनै योजना नरहेको र समस्या व्यवस्थापनमै जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शाहको उक्त अभिव्यक्तिलाई लिएर गायिका मगरले सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गर्दै दोहोरो मापदण्ड देखिएको संकेत गर्नुभएको छ । उहाँले काठमाडौंमा सुकुम्बासी र फुटपाथमा बसोबास गर्ने नागरिकमाथि गरिएको व्यवहार र झापामा प्रस्तुत धारणा बीच अन्तर रहेको तर्क गर्नुभएको हो ।

मगरले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “काठमाडौं महानगरका मतदाताको मन जित्न महानगर वरपरका सुकुम्बासी र फुटपाथका गरिबलाई हटाइयो, तर अहिले झापाका सुकुम्बासीलाई बाढीबाट जोगाउन व्यवस्थापन गर्न खोजिएको भन्ने तर्क सुन्दा ‘हग्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने उखान झल्किन्छ ।”

उहाँले समय र राजनीतिक आवश्यकताअनुसार धारणा परिवर्तन भएको जस्तो देखिएको भन्दै थप व्यंग्य गर्नुभएको छ । “समय–समयको कुरा हो । हिजो काठमाडौंमा सुकुम्बासी हटाइयो, आज झापामा तिनै सुकुम्बासीको मत आवश्यक परेको देखिन्छ,” उहाँको टिप्पणी छ ।

सुकुम्बासी समस्या नेपालका अधिकांश सहर र ग्रामीण क्षेत्रसँग गाँसिएको जटिल विषय हो । बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र त्यसप्रति आएको सार्वजनिक प्रतिक्रिया चुनावी माहोलमा सामाजिक न्याय, शहरी व्यवस्थापन र राजनीतिक उत्तरदायित्वबारे पुनः बहस सुरु गराउने कारक बनेको छ ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  ०९ : १६  बजे