काठमाडौं, २० माघ । काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा रहेको ‘भीआइपी लिफ्ट’ अब सबैले प्रयोग गर्न पाउने भएका छन् । लिफ्टमा राखिएको पासवर्ड हटाएर सेवाग्राहीहरु पनि चढ्नसक्ने बनाइएको हो । कार्यवाहक मेयर सुनिता डंगोलको निर्देशनमा लिफ्ट खुल्ला गरिएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो ।
गत माघ ६ गते नै लिफ्टको पासवर्ड हटाइएको उहाँको भनाई छ । मेयर साहले माघ ४ गते राजीनामा दिएर चुनावमा उम्मेदवार बन्नुभएको छ । काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालयमा तीन वटा लिफ्ट सञ्चालनमा छन् । यो ‘भीआइपी लिफ्ट’ भने २०८१ साल साउनमा तयार भएको हो ।
सुरुबाटै सर्वसाधारणको एक्सेस थिएन । महानगर स्रोतका अनुसार लिफ्टको पासवर्ड मेयरसहित उपमेयर र प्रशासकीय अधिकृतलाई थियो । महानगरका कार्यालय भवन दुईवटा छन् । दुईवटै भवनलाई एउटै बनाइए पनि आधा भाग मेयर–उपमेयर, प्रशासकीय अधिकृत, वातावरण विभागलगायतलाई छुट्याइएको छ भने अर्को आधा भागमा विभिन्न विभाग, शाखा, महाशाखाहरूको कार्यकक्ष छ ।
मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष भएको भवन ६ तलाको छ । महानगरमा सबैभन्दा बढी सेवाग्राही उहाँहरूलाई नै भेट्न पुग्छन् । उपमेयर सुनिता डंगोलको कार्यकक्ष तेस्रो तल्लामा, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको चौथो तल्ला र मेयर बालेन साहको कार्यकक्ष ५ औं तल्लामा छ ।
यी जनप्रतिनिधिको कार्यालयमा पुग्न भर्याङ वा लिफ्टको प्रयोग गर्न सकिने विकल्प छ । भर्याङको छेउमा भएको लिफ्ट नदेख्ने केही सेवाग्राही हिँडेरै जनप्रतिनिधिको कार्यकक्षमा पुग्छन् भने केही नयाँ बनेको लिफ्टबाट जान खोज्छन् । तर, नयाँ लिफ्टमा सर्वसाधारणलाई चढ्ने अनुमति थिएन । यो सँधै ‘लक’ हुन्थ्यो ।









प्रतिक्रिया