जापान, १८ माघ । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५औँ स्थापना दिवस आगामी मार्च १५ तारिखमा भव्य रूपमा मनाउने निर्णय गरेको छ । स्थापना दिवसलाई विशेष बनाउँदै महासंघले प्रवासमा सक्रिय नेपाली पत्रकारहरूको योगदानको कदर गर्न प्रवास पत्रकारिता पुरस्कार स्थापना गर्ने तथा १० लाख येनको पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउने महत्वपूर्ण निर्णयहरू गरेको छ ।
शाखाको हालै सम्पन्न नियमित दोश्रो बैठकले स्थापना दिवस कार्यक्रमको तयारी र व्यवस्थापनका लागि सचिव अर्जुन लामिछानेको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उपसमिति सदस्यहरूमा दिनेश थापा, रामचन्द्र गिरी, दुर्गा आचार्य र भवानी भट्ट रहेका छन् । उपसमितिले कार्यक्रमको स्वरूप, व्यवस्थापन र समन्वयको जिम्मेवारी सम्हाल्ने छ ।
बैठकले स्थापना दिवस कै अवसरमा प्रदान गरिने गरी ५० हजार रुपैयाँ राशीको ‘प्रवास पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ। प्रवासमा रहेर नेपाली पत्रकारितामा योगदान पुर्याउने पत्रकारलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको महासंघले जनाएको छ ।
पुरस्कारलाई पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्न मापदण्ड तथा कार्यविधि तयार गर्ने जिम्मेवारी सहित तीन सदस्यीय समिति गठन गरिएको छ। समितिको संयोजकको जिम्मेवारी पत्रकार खगराज गौतमलाई दिइएको छ भने सदस्यमा दिनेश कुमार थपलिया र इन्दिरा खनाल रहेका छन् ।
समितिले चाँडै कार्यविधि तयार गरी कार्यसमितिमा पेस गर्ने जनाएको छ । बैठकले प्रवासमा कार्यरत पत्रकारहरूको हित र कल्याणलाई ध्यानमा राख्दै १० लाख येनको पत्रकार कल्याण कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । स्वास्थ्य उपचार, आकस्मिक समस्या, विपद् तथा आपतकालीन अवस्थाका बेला पत्रकारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त कोष स्थापना गरिएको महासंघले जनाएको छ ।
कल्याण कोष सञ्चालन सम्बन्धि कार्यविधि महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष शान्त पहरीको संयोजकत्वमा तयार पारिएको कार्यविधिलाई आवश्यक संशोधन सहित बैठकले पारित गरेको छ । साथै, कोषलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन कार्यसमिति सदस्य, साधारण सदस्य, जापानस्थित नेपाली संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई सहयोगका लागि आह्वान गरिएको छ ।
बैठकले जापानमा रहेका नेपाली समुदायका समस्या, सरोकार र गतिविधि बारे विश्लेषणात्मक तथा तथ्यपरक लेखनलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ । जापानस्थित पत्रकार तथा विभिन्न क्षेत्रका विज्ञहरूलाई लेख लेख्न आग्रह गर्ने र ती सामग्री महासंघको आधिकारिक फेसबुक पेज तथा वेबसाइट मार्फत प्रकाशन गरिनेछ ।
उक्त सामग्रीको सम्पादनका लागि उपाध्यक्ष मनिषा चम्लागाईको संयोजकत्वमा सम्पादन मण्डल गठन गरिएको छ । सम्पादन मण्डलका सदस्यमा फुर्वा शेर्पा र भुवन भण्डारी रहनुभएको छ । यसका अतिरिक्त बैठकले महासंघको आधिकारिक फेसबुक पेज मार्फत जनचेतनामूलक सामग्री प्रकाशन गर्नेछ ।
महासंघका गतिविधि र सुधारका लागि गुगल फर्म मार्फत राय–सुझाव संकलन गर्ने तथा प्रवास पत्रकारिता सम्बन्धी ग्लोबल सम्मेलन आयोजना गर्न पहल अघि बढाउने निर्णय समेत गरेको छ । महासंघ जापान शाखाले गरेका निर्णयहरूले प्रवासमा नेपाली पत्रकारिताको संस्थागत विकास, पत्रकारहरूको हक–हित संरक्षण तथा पेशागत मर्यादा सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।









प्रतिक्रिया