बैतडीमा चुनावी प्रतिस्पर्धा तीव्र : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवारहरू मैदानमा

बैतडी, १८ माघ । फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा चुनावी प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ। लगातार तीन पटक निर्वाचित भई ‘ह्याट्रिक’ पूरा गर्नुभएका नेकपा एमालेका नेता दामोदर भण्डारी यसपटक चौथोपटक विजयी हुने लक्ष्यसहित पुनः चुनावी मैदानमा उत्रिनुभएको छ। उहाँ पछिल्लो समय मन्त्री पदको जिम्मेवारीसमेत सम्हाल्नुभएको अनुभवी नेता हुनुहुन्छ।

उहाँलाई पराजित गर्ने उद्देश्यसहित नेपाली कांग्रेसले जिल्ला सभापति चतुरबहादुर चन्दलाई उम्मेदवारका रूपमा अघि सारेको छ। चन्द नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत रहनुभएको छ। यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट परमानन्द भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारी उम्मेदवार रहनुभएको छ। यी चार जना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

चुनावलाई थप चासोपूर्ण बनाउने पक्ष के छ भने, नेकपाबाट उम्मेदवार रहनुभएका परमानन्द भट्ट बैतडी जिल्लाका एमाले संस्थापक नेतामध्ये एक हुनुहुन्छ। उहाँ एमालेबाटै पूर्व जिल्ला विकास समिति (जिविस) प्रमुखसमेत भइसक्नुभएको छ। अर्कोतर्फ रास्वपाबाट उम्मेदवारी दिनुभएका हरिमोहन भण्डारी कांग्रेसका पुराना नेता हुनुहुन्छ। उहाँ २०७९ को निर्वाचनमा कांग्रेसबाट प्रदेशसभा सदस्यको टिकटका आकांक्षी रहनुभएको थियो। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएको उहाँले सो निर्वाचनमा ११ हजार मत प्राप्त गर्नुभएको थियो।

चारै दलका उम्मेदवारहरूले आ–आफ्नो चुनावी प्रचार–प्रसारलाई तीव्र बनाइसक्नुभएको छ। हाल उहाँहरू घरदैलो अभियानमा सक्रिय रहनुभएको छ।

नेकपा एमालेले बैतडीमा आफ्नो संगठनात्मक मजबुती कायम राख्दै पुनः निर्वाचन जित्ने लक्ष्य लिएको जनाएको छ भने नेपाली कांग्रेस र नेकपाले बलियो संगठनको आधारमा परिणाम उल्ट्याउने दाबी गर्नुभएको छ। रास्वपाले भने जित हासिल गर्दै नयाँ राजनीतिक इतिहास रच्ने लक्ष्य लिएको बताएको छ।

आ–आफ्ना दाबी

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार भण्डारीले ३३ हजार ६११ मतसहित विजयी हुनुभएको थियो। त्यतिबेला कांग्रेस, नेकपा एकीकृत समाजवादीसहित पाँच दलीय गठबन्धनको समर्थनमा उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरले ३२ हजार ८० मत प्राप्त गर्नुभएको थियो।

भण्डारीले पाँच दल एक ठाउँमा हुँदा पनि आफू एक्लैले निर्वाचन जितेको उल्लेख गर्दै यसपटक पनि जित सुनिश्चित भइसकेको र औपचारिक घोषणा मात्र बाँकी रहेको दाबी गर्नुभएको छ।

कांग्रेस उम्मेदवार चन्दले भने एमालेको लामो शासनकालमा बैतडीवासीको अपेक्षाअनुसार विकास हुन नसकेको जनगुनासो बढेकाले यसपटक परिवर्तनको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्नुभएको छ। लामो समयपछि कांग्रेस आफ्नै चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुन पाएकाले आफ्नो जित सुनिश्चित रहेको उहाँको भनाइ छ।

नेकपा र रास्वपाका उम्मेदवारहरूले पनि यसपटक बैतडीका मतदाताले परिणाम उल्ट्याउँदै आफूहरूलाई विजयी गराउने दाबी गर्नुभएको छ।

२०७४ पछि पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा आफ्नै उम्मेदवार पाएको कांग्रेस थप उत्साहित देखिएको छ। बागी उम्मेदवार तेजबहादुर चन्दले उम्मेदवारी फिर्ता लिनुभएपछि पार्टीलाई राहत पुगेको कांग्रेसको बुझाइ छ।

बैतडी कांग्रेसका जिल्ला सचिव प्रेम चन्दका अनुसार चतुरबहादुर चन्द जिल्लामा परिचित, सक्षम र लोकप्रिय व्यक्तित्व हुनुहुन्छ। ‘नेपाल क्रिकेट संघमा उहाँले देखाउनुभएको कार्यसम्पादनले उहाँको क्षमताको प्रमाण दिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले उहाँजत्तिको सक्षमता अन्य उम्मेदवारमा नदेखिएको कुरा जनताले बुझिसक्नुभएको छ।’

एमाले केन्द्रीय सदस्य गोविन्द गिरिले भने जिल्लामा प्रतिबद्ध र संगठित एमाले संगठन नै जितको बलियो आधार भएको दाबी गर्नुभयो। ‘कांग्रेस र माओवादी एक ठाउँमा हुँदा पनि हामीले निर्वाचन जित्यौँ,’ उहाँले भन्नुभयो, ‘अहिले त झन् हाम्रो अवस्था बलियो छ।’ उहाँका अनुसार पछिल्ला १३ वर्षमा बैतडीको पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन भएको र त्यसको प्रमुख श्रेय दामोदर भण्डारीलाई जान्छ।

भण्डारी २०७० को दोस्रो संविधानसभा निर्वाचनमार्फत पहिलो पटक संसद् प्रवेश गर्नुभएको थियो। त्यसपछि २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि लगातार विजयी हुँदै उहाँले तीन कार्यकाल पूरा गर्नुभएको छ। उहाँ एकपटक अर्थराज्यमन्त्री तथा तीनपटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।

उता एमाले पृष्ठभूमिकै नेता उम्मेदवार बनाएको नेकपाले पुरानो माओवादी केन्द्र र एकीकृत समाजवादीको संगठनलाई एकाकार गर्दै गाउँगाउँमा चुनावी अभियान सञ्चालन गरिरहेको छ। ‘सैद्धान्तिक मतकै बलमा हामी जित नजिक छौँ,’ नेकपाका नेता नरेन्द्र कुँवरले भन्नुभयो।

बैतडीको राजनीतिमा परिचित अनुहार उम्मेदवार बनाएको रास्वपा पनि युवामाझ बढ्दो आकर्षणका कारण उत्साहित देखिएको छ। वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बैतडी पुग्दा देखिएको ठूलो भीडले पुराना दलहरूलाई झस्काएको रास्वपाको दाबी छ। ‘यसपटक बैतडीमा नयाँ इतिहास कोरिनेछ,’ रास्वपाका नेता भोजराज जोशीले भन्नुभयो।

केही दिनअघि पत्रकार सम्मेलनमा रास्वपा उम्मेदवार हरिमोहन भण्डारीले आफ्नो प्रतिस्पर्धी कोही नरहेको र एकतर्फी जित हासिल गर्ने दाबीसमेत गर्नुभएको थियो।

बैतडीको चुनावी मैदानमा यी चार मुख्य उम्मेदवारसहित कुल ११ जना उम्मेदवार रहनुभएको छ। तीमध्ये १० जना विभिन्न दलका र एक जना स्वतन्त्र उम्मेदवार हुनुहुन्छ। अन्य उम्मेदवारहरूमा राप्रपाबाट भूपेनबहादुर चन्द, जसपा नेपालबाट आनसिंह भण्डारी, नेमकिपाबाट नवराज कोइराला, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय, नेकपा माओवादीबाट रामबहादुर कुँवर र आम जनता पार्टीबाट विसनसिंह बोहरा रहनुभएको छ। स्वतन्त्रतर्फ जयप्रकाश बोहराले उम्मेदवारी दिनुभएको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार  १२ : ४१  बजे