राष्ट्रपति पौडेल आज जापान प्रस्थान गर्दै, कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ मनाइने

काठमाडौं,  १८ माघ  । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल आज जापान भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ।

जापान सरकारको औपचारिक निमन्त्रणामा हुन लागेको यस राजकीय भ्रमणले दुई देशबीचको सात दशक लामो मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्माननीय राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत आज राति ११ः३० बजे जापानको राजधानी टोकियो प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ।

भ्रमणको मुख्य कार्यक्रम माघ १९ गते तय गरिएको छ। उक्त दिन नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा सम्माननीय राष्ट्रपति पौडेल सहभागी हुनुहुनेछ।

त्यसैगरी, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् सम्माननीय नारुहितोसँग राष्ट्रपति पौडेलको राजकीय शिष्टाचार भेटवार्ता हुने तालिका रहेको छ। सोही दिन सम्माननीय राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री  ताकाइची सानाएबीच पनि महत्वपूर्ण द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जापान भ्रमणका क्रममा सम्माननीय राष्ट्रपति पौडेलले जापानका विदेश राज्यमन्त्री सम्माननीय होरिइ इवाओसँग भेटवार्ता गर्नुहुनेछ भने जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ।

यसैबीच, टोकियोस्थित नेपाली राजदूतावासले सम्माननीय राष्ट्रपति पौडेलको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि उहाँ सहभागी हुनुहुनेछ। भ्रमण दलमा सम्माननीय प्रथम महिला श्रीमती सबिता पौडेल तथा अन्य उच्च सरकारी पदाधिकारीहरू सहभागी हुनुहुन्छ।

सम्माननीय राष्ट्रपति पौडेल आगामी माघ २१ गते अपराह्न ४ः३० बजे स्वदेश फर्किनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार  ०९ : ४७  बजे