काठमाडौं, १७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई देश बनाउने र देश बिगार्ने प्रवृत्तिबीचको प्रतिस्पर्धाका रूपमा चित्रण गर्नुभएको छ । आफू देश बनाउने पक्षमा उभिएको उल्लेख गर्दै उहाँले निर्वाचनमा देश हार्न नहुने धारणा व्यक्त गर्नुभयो।
शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतदातालाई देशको पक्षमा उभिन आग्रह गर्नुभयो।
“तपाईंहरूले देशलाई विजयी बनाउनु हुनेछ,” उहाँले भन्नुभयो, “१६५ वटै निर्वाचन क्षेत्रमा देश हार्न हुँदैन।”
उहाँले झापा क्षेत्र नम्बर–५ मा आफ्नो प्रतिस्पर्धी बालेन्द्र साहतर्फ संकेत गर्दै नाम नलिई टिप्पणी गर्नुभयो। “ठुटे सिङ लिएर सिंगौरी खेल्न खोज्नेहरू पनि मैदानमा आएका छन्,” उहाँको भनाइ थियो।
अध्यक्ष ओलीले उदाहरण दिँदै भन्नुभयो, “अण्डा दुई प्रकारका हुन्छन्—एउटा बतासे, अर्को साँच्चिकै अण्डा। बतासे अण्डाबाट चल्ला निस्किँदैन।” उहाँले यस टिप्पणीमार्फत केही राजनीतिक शक्तिहरूलाई ‘बतासका खेती गरिरहेको’ आरोप लगाउनुभयो।
उहाँले ती समूहहरूसँग न संगठन, न स्पष्ट उद्देश्य, न दीर्घकालीन विचार रहेको दाबी गर्दै भविष्यको दिशासमेत अनिश्चित रहेको टिप्पणी गर्नुभयो। “आज यहाँ छन्, भोलि कहाँ जाने हुन्, फर्केर आउने हुन् कि होइनन्, कसैलाई थाहा छैन,” उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले अझ कडा शब्द प्रयोग गर्दै हिंसा, तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधिलाई क्रान्तिको नाममा महिमामण्डन गरिएको आरोप लगाउनुभयो। यस्ता गतिविधिबाट देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै उहाँले त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो।
उहाँले ती शक्तिहरूको जनाधार कमजोर रहेको दाबी गर्दै भने, “यी आकाशे खेती हुन्। जनतामाझ उनीहरू पुगेका छैनन्। कहाँबाट, कसरी परिचालित छन् भन्ने नै स्पष्ट छैन।” मोबाइल र सामाजिक सञ्जालको प्रयोगमार्फत भ्रम सिर्जना गरिएको उहाँको टिप्पणी थियो।
अध्यक्ष ओलीले एमाले पनि प्रविधिको प्रयोग गर्ने तर जनतासँग प्रत्यक्ष सम्बन्धमा आधारित राजनीति गर्ने पार्टी भएको उल्लेख गर्नुभयो। “हामी देशका लागि काम गर्छौं, जनताकै बीचमा छौं,” उहाँले भन्नुभयो, “देशलाई समृद्ध, सुरक्षित र जनतालाई सुखी बनाउने लक्ष्यबाट हामी विचलित हुँदैनौं।”









प्रतिक्रिया