काठमाडौं, १७ माघ । नेकपा (एमाले) का सचिव राजन भट्टराईले लोकतान्त्रिक व्यवस्थाप्रति सचेत र जिम्मेवार समझदारी नबनाए मुलुक गम्भीर अस्थिरतातर्फ जान सक्ने चेतावनी दिनुभएको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक व्यवस्था पूर्ण नभए पनि वर्तमान विश्वले रोजेको सबैभन्दा सभ्य र शान्तिपूर्ण प्रणाली भएको उल्लेख गर्नुभयो। संविधानको सर्वोच्चता, कानुनी राज्य र विधिको शासन लोकतन्त्रका आधार स्तम्भ भएको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “लोकतन्त्र आफैँमा पूर्ण व्यवस्था होइन, तर उपलब्ध व्यवस्थामध्ये सबैभन्दा उपयुक्त हो। यही व्यवस्थामार्फत शान्तिपूर्ण तरिकाले सरकार परिवर्तन गर्न सकिन्छ, जनताले रोजेको नेतृत्व चयन गर्न सकिन्छ र नागरिक सर्वोच्चताको अभ्यास हुन्छ।”
सचिव भट्टराईले लोकतान्त्रिक व्यवस्थामा कानुनका अगाडि सबै नागरिक बराबर हुने स्पष्ट पार्दै एमालेको लक्ष्य मुलुकलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को दिशामा अघि बढाउनु रहेको बताउनुभयो।
हिंसा, तोडफोड र आगजनीको माध्यमबाट सत्ता परिवर्तन गर्ने सोचप्रति उहाँले कडा असन्तुष्टि व्यक्त गर्नुभयो। एक्काइसौँ शताब्दीको तेस्रो दशकमा पनि यस्ता प्रवृत्ति देखिनु चिन्ताजनक भएको उहाँको भनाइ थियो।
“यदि विवेकी मतदाताले यस्ता प्रवृत्तिलाई चिन्न सकेनन् भने, हामी नचाहँदा नचाहँदै मुलुक युक्रेनजस्तै दीर्घकालीन संकटको बाटोमा जान सक्छ,” उहाँले चेतावनी दिनुभयो।
उहाँले देशलाई अस्थिरतातर्फ धकेल्ने कुनै पनि प्रयासको समाधान संविधान, लोकतान्त्रिक मूल्य र विधिको शासनको मजबुतीबाट मात्रै सम्भव हुने धारणा व्यक्त गर्नुभयो।









प्रतिक्रिया