देउखुरी, १७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्नु भएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित हुँदै चुनावी अभियान तीव्र पार्नु भएको छ।
उहाँले दाङका विभिन्न स्थानमा घरदैलो तथा भेटघाट कार्यक्रममार्फत मतदातासँग खुला संवाद र चुनावी एजेण्डामा बहसलाई अभियानको मुख्य आधार बनाउनु भएको हो। घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाट कार्यक्रममा उहाँले आफ्नो राजनीतिक यात्राभन्दा पनि लुम्बिनी प्रदेशको मुख्यमन्त्री रहँदा अघि बढाइएका विकासका योजना र तिनको कार्यान्वयनलाई केन्द्रमा राख्दै मतदातासँग छलफल गर्नुभयो।
पोखरेलले मुख्यमन्त्रीको कार्यकालमा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा सहभागी भएको बताउनुभयो।
“विकास योजना कागजमै सीमित हुनु हुँदैन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व आवश्यक छ,” उहाँले भन्नुभयो, “योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ।”
कार्यक्रमका क्रममा उहाँले आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको उल्लेख गर्दै अधुरा योजनाहरू पूरा गर्न पुनः जनमत आवश्यक रहेको बताउनुभयो। सडक, पूर्वाधार, खानेपानी र सिँचाइजस्ता आधारभूत क्षेत्रमा आफ्नो प्राथमिकता स्पष्ट पार्नुभयो।
घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासीले घरआँगनसम्म कालोपत्रे सडक पुगेको स्मरण गराउँदै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह गरेका थिए। साथै, विगतमा सुरु भएका केही विकास योजना अलपत्र परेको गुनासो पनि उनीहरूले राखेका थिए।
यसप्रति प्रतिक्रिया जनाउँदै पोखरेलले मुख्यमन्त्रीको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्ग निर्माण सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो।
“रणनीतिक महत्वका आधारमा सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ,” उहाँले भन्नुभयो, “अब त्यो सडक निर्माणको जिम्मेवारी म स्वयं लिन्छु।”
मतदातासँगको संवादमा उहाँले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा राख्दै दाङको समृद्धि साझा एजेण्डा भएको उल्लेख गर्नुभयो। “यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्यान्वयन क्षमता आवश्यक छ,” उहाँले जोड दिनुभयो।









प्रतिक्रिया