म्यानमारमा अनलाइन स्क्यामिङ्गमा संलग्न चार जना नेपालीलाई स्वदेश पठाइयो

काठमाडौं, १७ माघ । म्यानमारमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्रहरुमा संलग्न चार जना नेपाली नागरिकलाई स्वदेश पठाइएको छ । थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको म्यावडी क्षेत्रबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै बैंकक ल्याएर त्यहाँबाट हिजो नेपाल एयरलाइन्सको उडानमार्फत् नेपाल फर्काइएको हो ।

स्वदेश फर्काइएका चार जनामध्ये एक जना महोत्तरी, एक जना नुवाकोट र दुई जना दाङ जिल्लाका रहेका छन् । चारै जनाले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । आफूहरु धेरै आम्दानीको प्रलोभनमा परी म्यानमार गएको उनीहरुले बताएका छन् ।साथै थाइल्याण्डमा डाटा इन्ट्रि अफिसरको रूपमा काम गर्ने भनिए पनि थाइल्याण्ड पुगेपछि म्यानमारमा पुर्‍याएको बताएका छन् ।यो घटनाले उच्च शैक्षिक योग्यता हासिल गरेका नेपाली युवा समेत सामाजिक सञ्जाल, साथीभाइ, आफन्त तथा आकर्षक विज्ञापनको प्रलोभनमा परी फस्ने वा फसाइने गरेको देखिएको छ ।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार  ०८ : ४९  बजे