कैलाली,१६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) सहभागी कार्यक्रममा जम्मा भएको भीडको मौका छोप्दै लुटेरा गिरोह सक्रिय भएको खुलेको छ। बालेन साहलाई हेर्न जम्मा भएको भिडमा सुनको सिक्री लुटिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार अछाम र कञ्चनपुरमा गरी कम्तीमा ६ जनाको सुनको सिक्री लुटिएको छ। कञ्चनपुरको झलारीमा बुधबार दिउँसो २ बजेपछि बालेन साह पुगेपछि ठूलो संख्यामा सर्वसाधारणको भिड लागेको थियो। सोही क्रममा धनगढी–२ का मनोज चौधरी र धनगढी–३ का सञ्जीव मल्लको घाँटीमा लगाइएको सुनको सिक्री लुटिएको हो।
पीडित मनोज चौधरीले भीड अत्यधिक भएकाले मानिसहरूको हात घाँटी र टाउकोतर्फ पुगिरहेको अवस्थामा सिक्री चोरी भएको बताउनुभएको छ। उहाँका अनुसार उक्त घटनामा अनुभवी लुटेरा संलग्न देखिन्छन्। चोरीमा तीन जना संलग्न रहेको आशंका गरिएको छ र सीसीटीभी फुटेजमा पनि उनीहरू देखिएका छन्।
त्यसैगरी झलारीमै धनगढी–३ का सञ्जीव मल्लको समेत सुनको सिक्री चोरी भएको थियो। घटनापछि पीडितहरूले तत्काल इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएका थिए।
प्रहरीले सीसीटीभी फुटेजको आधारमा खोजतलास गरिरहेको क्रममा तीमध्ये एक जनालाई अछामबाट पक्राउ गरेको हो। बिहीबार अछामको साँफेबगर नगरपालिका–४ छिपेखोलास्थित रास्वपाको पार्टी कार्यालय नजिक आयोजित चुनावी भेटघाट कार्यक्रममा सिक्री चोरीको अभियोगमा पर्साको पकाहा मैनपुर गाउँपालिका–५ स्थायी घर भएका ३१ वर्षीय उमेश राय पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेका रायसहितको समूहले बालेन साह सहभागी कार्यक्रममा आएका कम्तीमा चार जनाको सुनको सिक्री लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एउटै गाउँका चार जनाको सिक्री चोरी गरिसकेपछि पाँचौँ व्यक्तिको चोरी गर्ने क्रममा राय पक्राउ परेको इलाका प्रहरी कार्यालय साँफेबगरका इन्स्पेक्टर दानसिंह भण्डारीले जानकारी दिनुभयो।
अछाममा मात्रै ६ तोलाभन्दा बढी सुनको सिक्री चोरी भएको र पक्राउ परेका व्यक्तिबाट एक थान सिक्रीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिको खोजी तीव्र रूपमा भइरहेको छ।
प्रहरीले बालेन साह सहभागी कार्यक्रममा अत्यधिक भिड हुने र चोरी गर्न सहज हुने भएकाले संगठित गिरोह नै सक्रिय भएको हुन सक्ने आशंका गरेको छ। कञ्चनपुरमा चोरी गरेको समूह अछाममा पनि बालेन साहकै कार्यक्रममा कसरी पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









प्रतिक्रिया