राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूद्वारा शहीदप्रति श्रद्धाञ्जली

‘शहीदका सपना साकार पार्ने प्रतिबद्धता’

 काठमाडौं, १६ माघ । आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी शहीद दिवस श्रद्धा र सम्मानका साथ मनाइँदैछ। देश र जनताको स्वतन्त्रता, अधिकार तथा लोकतन्त्रका लागि आफ्नो जीवन बलिदान दिने अमर शहीदहरूको स्मरणमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरिन्छ।

जहानियाँ राणाशासनविरुद्ध प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको स्मृतिमा विसं २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा शहीद दिवस मनाउन थालिएको हो। राणाशासनविरुद्ध आवाज उठाएकै कारण विसं १९९७ मा तत्कालीन सरकारले उहाँहरू चारै जनालाई मृत्युदण्ड दिएको थियो।
त्यसअनुसार माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा तथा माघ १६ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो। शहीदहरूको त्यही ऐतिहासिक बलिदानको जगमा विसं २००७ मा नेपालमा प्रजातन्त्र स्थापना भएको इतिहास साक्षी छ।

शहीद दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा राज्यका उच्च पदाधिकारीहरूले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनता तथा सार्वभौमिकताका लागि शहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन सबैलाई आग्रह गर्नुभएको छ। सन्देशमार्फत उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले शहीदहरूको साहस, चेतना र संकल्पकै कारण देश ऐतिहासिक परिवर्तनको मोडमा आइपुगेको उल्लेख गर्दै अब कुनै पनि नेपाली आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। उहाँले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा बलिदान दिने सबै शहीदप्रति नमन गर्नुभएको छ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदहरूको बलिदानकै परिणामस्वरूप आज नेपाली जनताले लोकतान्त्रिक अधिकार उपभोग गर्न पाएको बताउनुभएको छ। उहाँले निरंकुश शासनको अन्त्य र लोकतन्त्र स्थापनाको ऐतिहासिक विरासतलाई कहिल्यै नबिर्सन आग्रह गर्दै अमर शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले शहीदहरूले देखाएको बाटोमा हिँड्ने संकल्प गर्नुपर्ने बताउँदै २००७ सालको जनक्रान्तिदेखि पछिल्ला आन्दोलनसम्मको इतिहास स्मरण गर्नुभएको छ। संविधानसभाबाट निर्मित संविधानमा लिपिबद्ध जनअधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँको जोड छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गर्दै अब शहीदका सपना साकार पार्ने जिम्मेवारी वर्तमान पुस्ताको काँधमा आएको बताउनुभएको छ। भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनामार्फत देशलाई आर्थिक रूपमा उन्नत बनाउने दायित्वमा आफूहरू अघि बढिरहेको उहाँको भनाइ छ।

शहीद दिवसका अवसरमा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह पनि मनाइँदैछ। यस अवसरमा देश, लोकतन्त्र र गणतन्त्रका लागि बलिदान दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार  ११ : १६  बजे