पाँच वर्षमै ठोस उपलब्धि हासिल गर्न सक्ने घोषणापत्र ल्याउँछौँ– अध्यक्ष ओली

काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माननीय केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले पाँच वर्षभित्र ठोस र मापनयोग्य उपलब्धि हासिल गर्न सक्ने कार्यक्रमहरू समेटिएको घोषणापत्र ल्याउने तयारी गरिरहेको जानकारी दिनुभएको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित छलफल कार्यक्रममा प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा घोषणापत्र तयारीबारे विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझाव लिँदै अध्यक्ष ओलीले जनताको व्यावहारिक आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर घोषणापत्र निर्माण भइरहेको स्पष्ट पार्नुभयो।अध्यक्ष ओलीका अनुसार पार्टीले देशलाई पहिलो प्राथमिकतामा राख्दै मुलुकको समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको सुख–समृद्धिको चाहना पूरा गर्ने लक्ष्यसहित घोषणापत्र तयार गरिरहेको छ।उहाँले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढङ्गले सम्पन्न हुने वातावरण बनाउन सरकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। “लोकतान्त्रिक अभ्यासको विश्वसनीयताका लागि स्वच्छ निर्वाचन अपरिहार्य छ,” उहाँको भनाइ थियो।

माननीय ओलीज्यूले नेकपा (एमाले) सुदृढ संगठन, व्यापक जनसमर्थन र सर्वाधिक लोकप्रिय राजनीतिक दलका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै गत भदौमा भएका विध्वंसका कारण राष्ट्रियता, लोकतन्त्र र संविधानमा परेको क्षतिको पुनःनिर्माण गर्ने दायित्व पार्टीले उच्च मनोबलका साथ वहन गर्ने बताउनुभयो। साथै उहाँले राष्ट्रिय सुरक्षा सुदृढीकरण र राष्ट्रिय एकता मजबुत बनाउन एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो।राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा केवल समर्पणबाट सम्भव नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले आवश्यक परे प्रतिरोध, प्रतिवाद र प्रतिरक्षामार्फत देशको हित जोगाइने बताउनुभयो।कार्यक्रममा सहभागी विज्ञहरूले पार्टीको घोषणापत्र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने, व्यवहारिक र कार्यान्वयनयोग्य हुनुपर्ने सुझाव दिएका थिए। सोही आधारमा एमालेले अध्यक्ष ओलीको संयोजकत्वमा सात सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ।उक्त समितिमा उपाध्यक्षद्वय माननीय रामबहादुर थापा र माननीय विष्णुप्रसाद पौडेल, महासचिव माननीय शङ्कर पोखरेल तथा सदस्यहरू माननीय ईश्वर पोखरेल, माननीय प्रदीप ज्ञवाली र माननीय विष्णु रिमाल रहनुभएको छ।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार  २१ : २७  बजे