काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ। काठमाडौंमा उपलब्ध निवर्तमान सांसदहरूसहित आफूहरू अदालत जान लागेको संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अदालतमा धेरै रिट परेका छन् तर अहिलेसम्म कुनै पेसी तोकेको छैन। त्यसैले हामी ध्यानाकर्षण गराउनको लागि अदालत जान लागेका हौँ। चुनावअघि नै फैसला हुनुपर्छ भन्ने हाम्रो माग रहन्छ।’ न्याय मरेको छैन भन्ने सन्देश अदालतले दिनुपर्ने बताउनुभयो । उहाँले थप्नुभयो, ‘हामीले काठमाडौंमा उपलब्ध साथीहरूलाई भनेका छौँ, कोही चुनावी अभियान लिएर जिल्ला जानुभएको छ।
हामी जे फैसला आएपनि मान्छौँ तर अदालतले चुनावअघि नै फैसला गर्नुपर्छ भन्ने हाम्रो माग हो।’ उहाँले आफूहरूले एमालेसँग पनि सँगै जानेबारे छलफल गरेको भए पनि जाने नजाने भन्ने जवाफ पाइनसकेको बताउनुभयो। जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते संसद् विघटन गरेका थिए। संसद् विघटनपछि फागुन २१ गते निर्वाचन हुँदै छ।









प्रतिक्रिया