राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्रको लगातार चौथो जीत

काठमाडौं, १४ माघ ।  चित्लाङ एफसीलाई हराउँदै मच्छिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा लगातार चौथो जीत हासिल गरेको छ ।ललितपुरको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा मच्छिन्द्रले चित्लाङलाई ३–१ गोलले हरायो । मच्छिन्द्रका प्रदीप बुढाथोकी, जोनाथन जोरिल्ला र अल्जोन अलिजोनोभले गोल गरे । चित्लाङका विज्ञान खड्काले गोल गरे ।

मच्छिन्द्रले ४ खेलमा १२ अङ्क जोडेको छ । प्रतियोगितामा चित्लाङले चार खेलमा दोस्रो हार बेहोरेको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)  को आयोजनामा भएको राष्ट्रिय लिग फुटबलमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने लिगमा कूल १ सय ३६ खेल हुनेछन् ।राष्ट्रिय लिगका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् । लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार  २० : ३७  बजे