प्रचण्डलाई झलनाथ खनालको चेतावनी: पार्टीमा अधिनायवादी शैली हटाउनु, एकलौटी निर्णय गरे नेकपा फुट्छ

काठमाडौं, १२ माघ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकलौटी निर्णय गर्दै गए पार्टी फुट्ने चेतावनी दिनुभएको छ। आज बिहान सामाजिक सञ्जालमार्फत उनले माओवादी केन्द्र र एकीकृत समाजवादीबिच एकीकरण घोषणा भएको लामो समय नेकपाको नेतृत्वदायी कमिटी नै नबनाउने र संस्थागत निर्णय प्रक्रिया विकसित नहुँदा पार्टी फुटतर्फ जाने चेतावनी दिनुभएको हो । कतिपय निर्णय एकैचोटी सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएको भन्दै उहाँले पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन जोड दिनुभयो । उहाँले वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन गर्ने, अन्य पार्टीबाट आउने नेताहरूको संस्थागतरूपमा जानकारीसम्म नदिने गरेको भन्दै आपत्ति जनाउनुभयो । पूर्वप्रधानमन्त्री खनालले जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेको बताउनुभयो ।

‘यतिबेला हाम्रा सामु आम निर्वाचन २०८२ सन्निकट आइरहेको छ । मुलुकका विरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र चलिरहेको छ । जनता र राष्ट्रले सम्पूर्ण देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरू बीच नीतिनिष्ठ र दरो एकताको माग गरिरहेका छन् । यही कुरालाई ध्यानमा राखेर कम्युनिष्टहरू एकताबद्ध हुने प्रयत्न पनि भइरहेको छ ।’उहाँले भन्नुभएको छ,‘तर त्यो प्रयत्नलाई बल पुर्‍याउनुको सट्टा एकीकरण घोषणा भएको यति लामो समय पछि पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र नै नेतृत्वदायी कमिटी नै बन्न नसक्नु, संस्थागत निर्णय प्रक्रिया विकसित नहुनु, एकाध व्यक्तिहरूको इच्छा बमोजिम ठूलठूला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेल जस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागतरुपमा जानकारीसम्म पनि नहुनु र एकैचोटी सार्वजनिक संचार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन् । ’

सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने कारबाही फिर्ता लिएर हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन माग गर्नुभएको छ। उहाँले भन्नुभयो ,‘यदि यो नेपाली कम्युनिष्ट पार्टीलाई सच्चा कम्युनिष्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क।हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुपर्‍यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु । ’ उनले सामूहिक निर्णय प्रक्रिया अगाडि नबढाए एकीकरण भई नसक्दै विश्रृंखलातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुने टिप्पणी गर्नुभएको छ ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार  १३ : ०६  बजे