काठमाडौं, ११ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित सदस्यलाई एक पत्र लेख्दै आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन सबैलाई उच्च मनोबल सहित सक्रिय हुन आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीले शनिबार साँझ पार्टीका ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बीचको हार जितको फैसला गर्ने उल्लेख गर्नुभएको छ । उहाँले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा लेख्नुभएको छ।
अध्यक्ष ओलीले लेख्नुभएको छ– बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु ।’ पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले पार्टी सबै सदस्यहरूलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेको बताउनुभयो । ‘ठूलो सङ्ख्यामा रहेका पार्टी सदस्यहरूलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेरै हौसला प्रदान गर्नुभएको छ,’ शाहीले भन्नुभयो, ‘यसबाट पार्टीका सङ्गठित सदस्यहरूले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभूति गर्ने विश्वास गरिएको छ ।’ देशमा विध्वंस र आगजनी गर्नेहरूलाई चुनावी मैदानबाटै बिदा गरेर निर्माण र देशको नेतृत्व एमालेले गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्य मार्फत आम मतदातामा पुऱ्याउनका लागि पनि पत्राचार गरिएको शाहीको भनाइ छ ।









प्रतिक्रिया