काठमाडौं, १० माघ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको चुनावी कमाण्डर भोजप्रसाद श्रेष्ठ र राजु गुरुङ बन्नुभएको छ ।
रुपन्देही क्षेत्र नं २ मा उम्मेदवार बन्नुभएका पौडेलको निर्वाचन परिचालनका लागि एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बुटवलका पूर्व मेयर भोजप्रसाद श्रेष्ठ संयोजक र युवासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष राजु गुरुङ सहसंयोजक रहेको ९०१ सदस्यीय कमिटीको शुक्रवार सार्वजनिक गरिएको गरिएको छ ।
गुरुङ यसअघि ०७९ को निर्वाचनमा नेकपा एसबाट तत्कालीन कांग्रेस– माओवादीको साथमा उहाँनै पौडेलसमक्ष उम्मेदवारी दिएर मैदानमा हुनुुहुन्थ्यो तर अन्तिममा उम्मेदवारी रद्द भएर खाली भएको थियो । पछि एमाले प्रवेश गरेका गुरुङ अहिले पौडेलको विश्वास पात्र बन्नुभएको छ ।
निर्वाचनमा आर्थिक परिचालन समितिको संयोजक भने समानुपातिक सांसदको पहिलो सूचिमा रहनुभएका एजाज आलम हुनुहुन्छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु प्रसाद पौडेलले राष्ट्रिय स्वाधीनताको रक्षा र विकासका लागि एमाले जनताको मनमा बसेको बताउनुभयो।
उहाँले भौतिक पूर्वाधारको विकाससँगै सामाजिक, मानवीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना आफ्नो प्रमुख प्राथमिकता रहने बताउँदै रुपन्देहीको भौतिक विकास देशका लागि सिकाइको नमुना बनाउने घोषणा गर्नुभयो । नेता पौडेलले रोजगारी र नागरिकको आयस्तर वृद्धि हुने खालका योजना कार्यान्वयनमा आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो।
पौडेलले एमालेलाई मत नदिनुपर्ने कुनै कारण नरहेको भन्दै मतदातालाई अहिलेसम्म गरेका कामको निष्पक्ष मूल्यांकन गरेर घर-घरमा सन्देश पुराउन उहाँले आग्रह गर्नुभयो। नेता पौडेलले कसैको आलोचना नगरी आफ्ना एजेण्डा राख्दै राष्ट्रिय स्वाधीनताको लडाइँमा प्रतिबद्ध एमालेलाई जिताउने मुख्य जिम्मेदारी कार्यकर्ताको भएको बताउँदै रुपन्देही २ मा ०७४ को मतान्तरमै जित्ने गरी योजना बनेको बताउनुभयो ।
त्यस्तै समानुपातिकतर्फका उम्मेदवार एजाज आलमले हरेक क्षेत्रका एमाले सदस्यले आफ्नो परिवार र पार्टी सदस्यलाई क्रियाशील बनाउन सके एमाले निर्वाचनमा सहजै विजयी हुने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयलाई आफ्नो मुख्य एजेन्डा बनाउने, सामाजिक सेवामार्फत जनतासँग जोडिने बताउँदै रुपन्देहीको विकास र देशको समृद्धिका लागि एमाले नेतृत्वको सरकार अपरिहार्य रहेको दाबी गर्नुभयो ।
निर्वाचन परिचालन समितिका संयोजक भोजप्रसाद श्रेष्ठले रुपन्देहीको सुकुम्वासी समस्या समाधान गर्न एमाले सधैँ प्रतिबद्ध भएर लागेको स्मरण गराउनुभयो । उहाँले जनताको सुख–दुःखमा एमाले सधैँ साथमा रहेको भन्दै यस पटक पनि एमालेको पक्षमा मत दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा क्षेत्रीय अध्यक्ष ऋषि पाण्डे, उपाध्यक्ष राजेन्द्र ढकाल, सचिव मेघराज भट्टराई लगायतले निर्वाचनमा सबै नेता–कार्यकर्तालाई एक ढिक्का बनाएर परिचालन हुन आग्रह गर्दै पार्टीलाई विजयी गराउन संगठित रूपमा अभियानमा लाग्न अनुरोध गर्नुभएको थियो ।









प्रतिक्रिया