मतदातालाई विकासबारे स्मरण गराउनुपर्छ : अध्यक्ष ओली

झापा, ९ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा–५ का नेता तथा कार्यकर्ताहरुलाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिनुभएको छ। झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको आजको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको हो ।

एमालेको सम्पूर्ण पार्टीपङ्ति जनताको घर–घरमा पुग्नु र मतदातालाई एमालेलाई मत दिनलाई विश्वस्त तुल्याउन उहाँले आग्रह गर्नुभयो । अध्यक्ष ओलीले यस क्षेत्रमा एमालेको नेतृत्वमा भएको विकास निर्माणको काम नै निर्वाचन जित्न पर्याप्त भएको उहाँले बताउनुभयो ।

केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहरु सहभागी सो बैठकमा योजना बनाएर प्रचारको काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न निर्देशन दिनुभएको छ । उहाँले दृढताकासाथ निर्वाचन प्रचारमा लाग्न सबैलाई निर्देशन दिनुभयो ।

‘यस क्षेत्रमा म पहिलो पटक निर्वाचन लड्न आउँदाको स्थिति के थियो ? अहिले कस्तो छ ?’ त्यतिबेला धुलाम्मे सडक मात्र थिए । पिच हेर्न राजमार्ग जानुपथ्र्यो, अध्यक्ष ओलीले भन्नुभयो,‘अहिले गाउँटोलसम्म नै पिच सडक पुगेको तपाईहरुले देख्नुभएको छ । यो एमालेको नेतृत्वले गर्दा भएको हो । जनताले यो कुरा बुझेका छन् । तर एक पटक पुनः स्मरण गराउनु पर्दछ ।’

अध्यक्ष ओलीले देशलाई नै सखाप पार्ने उद्देश्यले भदौ २३ र २४ गतेको घटना गराइएको दाबी गर्नुभएको छ । नवयुवाहरुले सुरु गरेको आन्दोलन र उठाएका मागहरु नाजायज नभए पनि त्यसपछिको घुसपैठले देश नै तहसनहस भएको उहाँको भनाइ छ ।

‘एमालेलाई दोषी करार गर्न खोजिदैछ, मतदातामा भ्रम फैलाउने प्रयास हुँदैछ’ अध्यक्ष ओलीले भन्नुभयो,‘यस्ता आधारहीन कुराको प्रतिवाद गर्नु पर्दछ । यसका लागि सम्पू्रर्ण पार्टीपङ्तिलाई जनताको घर–घमा पुर्याउनुपर्छ । हरेक मतदातासँग सम्पर्क बढाउनुपर्छ ।’

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार  १५ : २९  बजे