राजीव खत्रीले स्काउटको ९५ हजार बुझाएनन्, आयोगमा पर्‍यो उजुरी

भक्तपुर, ८ माघ । भक्तपुर क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारविरूद्ध उजुरी परेको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरूद्ध उजुरी परेको निर्वाचन अधिकृत राधिका सुवालले बताउनुभयो।

खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु रकम बाँकी रहेको र पाठकविरूद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको भन्दै नविन कुमार महतले उजुरी हालेको निर्वाचन अधिकृत सुवालले जानकारी दिनुभयो। दुई जनाविरूद्ध परेको उजुरीको बिहिबार छानबिन हुने उहाँले बताउनुभयो।

दुई पक्षलाई बोलाएर यो विषयमा सोधपुछ गर्ने र उजुरी परेका उम्मेदवारहरू पनि प्रमाणसहित उपस्थिति हुन आग्रह गरिएको निर्वाचन अधिकृत सुवालले जानकारी दिनुभयो। बिहिबार पाँच बजेभित्र उजुरीको निष्कर्ष निकालिने बताइएको छ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार  १३ : २०  बजे