बालेनको लज्जास्पद हार हुनेमा अध्यक्ष ओली ढुक्क

काठमाडौं, ७ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा एमालेबाहेक अरु कसैले पनि चुनाव नजित्ने बताउनुभएको छ । आज झापामा आयोजित एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेसँग कार्यकर्ता, सुदृढ संगठन, समर्थक र सुभेच्छुक रहेको कारण चुनाव जित्नेमा कुनै शंका नरहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलक्षित गर्दै केही पनि नभएका मान्छेहरुले हल्ला चलाएर एमालेले चुनाव नहार्ने बताउनुभयो । उहाँले बालेनको चुनावी अभियानलाई सामाजिक सञ्जालको तामासाको संज्ञा दिनुभएको हो । बालेनलगायत झापा ५ बाट उम्मेदवारी दिएकाहरुले चुनाव हार्ने अध्यक्ष ओलीको दाबी छ ।

‘हामीबाहेक अरु कसैले जित्दैन । हामीसँग सुदृढ संगठन छ । हाम्रा कार्यकर्ता छन्, संगठन छ, समर्थक सुभेच्छुकहरु छन् । केही पनि नभएका मान्छेले यहाँ हल्ला चलाइरहेका छन् । यो सामाजिक सञ्जालको तमासा मात्रै हो,’ उहाँले भन्नुभयो।साथै, उहाँले रास्वपा वरिष्ठ नेता शाहसँग भिजन, नीति, कार्यक्रम, गन्तव्य केही पनि नरहेको र उनी केवल ट्रेड मिलमा दौडिरहेको ओलीले टिप्पणी गर्नुभयो ।

ट्रेड मिलमा दौडिएर गन्तव्यमा पुग्न नसकिने उहाँको भनाइ छ । ‘भिजन, नीति, कार्यक्रम, गन्तव्य छैन । हिँड्ने मात्रै कहाँ जाने हो ? ट्रेड मिलमा डौडिएर कहीँ पनि पुगिँदैन । सामाजिक सञ्जाल प्रेरित ट्रेड मिलको यात्रा हो । आक्रोश, आवेशको होइन,’– उहाँले भन्नुभयो ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार  २० : ३७  बजे