अनुभवी र परिक्षित नेतृत्वमाथि दोलखाली जनताको भरोसाः पार्वत गुरुङको जिततर्फ निर्वाचन

दोलखा, ७ माघ ।  आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै दोलखामा नेकपा (एमाले) ले अनुभवी, जनविश्वास प्राप्त तथा विकासमुखी नेताका रूपमा स्थापित माननीय पार्वत गुरुङलाई पुनः चुनावी मैदानमा उतारेको छ । लामो समयदेखि दोलखाली जनतासँग आत्मीय सम्बन्ध कायम गर्दै आउनुभएका गुरुङको उम्मेदवारीलाई यस पटक एमालेको सशक्त जितको मुख्य आधारका रूपमा हेरिएको छ ।

दोलखाको राजनीतिक, सामाजिक र विकास यात्रासँग गहिरोसँग जोडिनुभएका माननीय गुरुङ पार्टी सङ्गठन कमजोर परेको बेला अग्रमोर्चामा उभिनुहुने, नेतृत्व संकटमा परेका समयमा काँध थाप्नुहुने र जनताको दुःख–सुखमा सदैव साथ दिनुहुने नेता हुनुहुन्छ । स्थानीय समस्यालाई केन्द्रसम्म प्रभावकारी ढंगले पुर्‍याउने र भूगोलअनुसार विकासको स्पष्ट खाका कोर्ने उहाँको कार्यशैलीकै कारण दोलखामा निरन्तर जनसमर्थन बढ्दै गएको राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ ।

दोलखाको उत्तरी भेग गौरीशंकर गाउँपालिका–२, सुरीमा वि.सं. २०२५ सालमा जन्मिनुभएका माननीय गुरुङ अनेरास्ववियुको राजनीतिबाट वाम आन्दोलनमा सक्रिय हुनुभएको हो । जिल्ला तहमा पार्टी सङ्गठन मजबुत बनाउँदै एमाले जिल्ला अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएका उहाँ पार्टी पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज हुँदै केन्द्रीय नेतृत्वसम्म पुग्नुभएको छ । हाल उहाँ नेकपा (एमाले) केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएको छ ।

स्नातक तहसम्म अध्ययन गर्नुभएका माननीय गुरुङ २०७० सालमा दोलखा–१ बाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँले ऐतिहासिक मतान्तरसहित शानदार विजय हासिल गर्नुभएको थियो । उक्त निर्वाचनमा उहाँले ५५ हजार ४५७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धीले २४ हजार ८३१ मतमा सीमित रहनु परेको थियो ।

त्यस निर्वाचन परिणामलाई दोलखामा एमालेको बलियो जनाधार र माननीय गुरुङप्रतिको जनविश्वासको स्पष्ट प्रमाणका रूपमा लिइन्छ । यद्यपि सो समयमा गठबन्धनको अवस्था रहेको भए पनि गुरुङको व्यक्तिगत लोकप्रियता र संगठनात्मक पकड निर्णायक रहेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।

संघीय सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका माननीय गुरुङले नीति निर्माणदेखि सेवा प्रवाहसम्म प्रभावकारी भूमिका निर्वाह गर्नुभएको भन्दै पार्टीभित्र मात्र नभई बाहिरसमेत सकारात्मक मूल्याङ्कन हुँदै आएको छ । विशेषतः सञ्चार तथा सूचना प्रविधिको विस्तार, सामाजिक सुरक्षा र नीतिगत सुधारमा उहाँको योगदान उल्लेखनीय मानिन्छ ।

यस पटकको निर्वाचनमा नेकपा (एमाले) ले स्थिरता, विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएको छ । सोही एजेन्डालाई आत्मसात् गर्दै दोलखाको सडक, विद्युत्, सञ्चार, पर्यटन र रोजगारीका सवाललाई केन्द्रमा राखेर माननीय गुरुङ चुनावी मैदानमा होमिनुभएको छ । स्थानीयदेखि संघीय तहसम्मको अनुभव भएकाले दोलखाको आवाज संसदमा प्रभावकारी रूपमा उठाउन उहाँ सक्षम नेता हुनुहुन्छ भन्ने एमालेको ठोस दाबी छ ।

पार्टी नेतृत्वले समेत माननीय गुरुङलाई दोलखामा एमालेको जित सुनिश्चित गर्ने ‘विश्वसनीय र परिक्षित उम्मेदवार’का रूपमा अघि सारेको छ । अघिल्ला निर्वाचनका परिणाम, पार्टी सङ्गठनमाथिको बलियो पकड र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण यस पटक पनि उहाँको विजयले दोलखामा विकास र स्थायित्वलाई थप गति दिने व्यापक अपेक्षा गरिएको छ ।

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको वर्तमान अवस्थामा माननीय पार्वत गुरुङको उम्मेदवारीलाई दोलखामा एमालेको स्थिर राजनीति, अनुभवी नेतृत्व र दीर्घकालीन विकासको निरन्तरतासँग जोडेर हेरिएको छ । यही कारण, यस निर्वाचनलाई दोलखाली जनताले ‘अनुभवले खारिएको नेतृत्व’ र ‘दोलखाको उज्यालो भविष्यका लागि निर्णायक अवसर’का रूपमा मूल्याङ्कन गर्न थालेका छन् ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार  २० : १५  बजे