काठमाडौं, ६ पुस । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ। मंगलबार दिउँसो निर्वाचन कार्यालय पुगेर दलबलसहित उम्मेदवारी दर्ता गराउनुभएका बस्नेतको मनोनयनसँगै भक्तपुर–२ को चुनावी माहोल थप उत्साहपूर्ण बनेको छ।
भक्तपुरको विकास, सुशासन र स्थायित्वको बलियो आधार तयार गर्ने नेताका रूपमा परिचित बस्नेतको उम्मेदवारीलाई स्थानीयस्तरमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। २०७० र २०७४ सालमा यही क्षेत्रबाट लगातार निर्वाचित भइसकेका बस्नेतले आफ्नो कार्यकालमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र युवा रोजगारीका क्षेत्रमा उल्लेखनीय काम गरेको जनताले स्मरण गरिरहेका छन्। यही कारण यसपटक उनको पुनरागमनलाई लगभग सुनिश्चितजस्तै मानिएको छ।
२०७९ सालको निर्वाचनमा कांग्रेस उम्मेदवारसँग पराजित भए पनि त्यो परिणाम अस्थायी राजनीतिक परिस्थितिका कारण भएको एमाले नेताहरूको विश्लेषण छ। पछिल्लो समय एमालेप्रति जनलहर पुनः बलियो बन्दै गएको र स्थानीय तहदेखि केन्द्रीय तहसम्म पार्टीको संगठन मजबुत बनेको भन्दै यसपटक परिणाम फरक हुनेमा कार्यकर्ता मात्र होइन, आम मतदाता पनि ढुक्क देखिन्छन्।
भक्तपुर–२ मा कांग्रेसले कविर राणालाई उम्मेदवार बनाएको भए पनि बस्नेतको राजनीतिक अनुभव, जनतासँगको प्रत्यक्ष सम्बन्ध र विकासको स्पष्ट एजेन्डासामु कांग्रेस कमजोर देखिएको एमालेको दाबी छ। “काम गर्ने नेता चाहिन्छ” भन्ने मतदाताको चाहनासँग बस्नेतको छवि मिल्ने भएकाले चुनावी प्रतिस्पर्धा एकतर्फी हुने सम्भावना उच्च देखिएको विश्लेषकहरू बताउँछन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि देशभर मनोनयन दर्ता भइरहँदा भक्तपुर–२ मा भने महेश बस्नेतको उम्मेदवारीले एमालेको जितलाई लगभग पक्का बनाएको सन्देश प्रवाहित भएको छ। अबको चुनाव बस्नेतका लागि केवल जितको औपचारिक घोषणा मात्रै बाँकी रहेको जस्तो देखिन थालेको छ।









प्रतिक्रिया