प्रतिनिधिसभा निर्वाचन: आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं, ६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो।आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ । आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ । वि.सं. २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

उम्मेदवारले मनोनयन दर्ता गर्दा के के चाहिन्छ कागजात ?

उम्मेदवारले मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य रूपमा पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा बहाल रहेको अवस्थामा उम्मेदवारी दिन चाहने व्यक्तिले सो पदबाट राजीनामा दिएको प्रमाण पेस गर्न आवश्यक छ।

दलको तर्फबाट उम्मेदवारी दिँदा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट जारी गरिएको औपचारिक मनोनयनपत्र अनिवार्यरुपमा पेस गर्नुपर्ने छ। उम्मेदवारले स्वघोषणा पत्र, चल–अचल सम्पत्तिको विस्तृत विवरण पनि पेस गर्न आवश्यक छ।

बैंक तथा वित्तीय संस्थामा रहेको खाता, सेयर, ऋणसम्बन्धी विवरण शिलबन्दी रूपमा पेस गर्नुपर्नेछ। प्रतिनिधिसभा सदस्यका उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम बुझाउनुपर्नेछ। तर महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुट दिइनेछ। आर्थिक रूपमा विपन्न भएको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य हुनेछ।

उम्मेदवारले आफूले लिएको कुनै पनि पेस्की फछ्र्योट गरेको निस्सा, लेखा परीक्षणबाट कायम भएको बेरुजू फछ्र्योट गरेको प्रमाण र निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिबद्धता पत्र आवश्यक छ। तोकिएका सबै कागजात पूरा नगरेमा उम्मेदवारको मनोनयन अमान्य हुन सक्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  ०८ : ३३  बजे