काठमाडौं, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले रामेछापमा आफ्नो उम्मेदवार टुंग्याएको छ । पार्टीले माधवप्रसाद ढुङ्गेललाई प्रतिनिधिसभा सदस्यको आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो । शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले ढुङ्गेललाई रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवार घोषणा गरेको हो ।
ढुङ्गेल हाल एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्जसमेत हुनुहुन्छ । एमाले रामेछाप जिल्ला कमिटीले प्रतिनिधिसभा निर्वाचनका लागि आठ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस सूचीमा माधवप्रसाद ढुङ्गेलसहित पूर्व पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँ, गीता कार्की, बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश सदस्य रत्नप्रसाद गौतम, निवर्तमान प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, प्रदेश सदस्य परशुराम बस्नेत र पूर्व प्रदेश सदस्य केशर बुढाथोकी रहनुभएको थियो । सोही सूची बागमती प्रदेश कमिटीले पनि केन्द्रमा पठाएको थियो । जिल्ला र प्रदेश कमिटीबाट सिफारिस गरिएका उम्मेदवारहरूमध्ये केन्द्रीय सचिवालयले अन्ततः माधवप्रसाद ढुङ्गेललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले रामेछाप प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिनुभयो ।









प्रतिक्रिया