आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल

काठमाडौं, २ माघ । निर्वाचन आयोगले आउँदो चुनावमा आचारसंहिताको कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल गरेको छ ।निर्वाचन आयोगले यसअघि तयार पारिएको निर्वाचन आचारसंहितालाई छिट्टै कार्यान्वयनमा लैजाने जनाएको छ । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन हुँदैछ ।

आज भएको छलफलमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्रीरमन्त्रीलगायतबाट सार्वजनिक भाषणमा व्यक्त भइरहेका कतिपय अभिव्यक्तिमा आपत्ति जनाउनुभएको छ । उहाँले चुनावमा राज्यको शक्ति र स्रोत–साधनको दुरुपयोग हुन नदिने कुरामा सचेत रहन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो ।त्यस्तै नेकपा एमालेका सचिव डा। राजन भट्टराईले चुनाव भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै शङ्का रहेको बताउनुभएको छ । उहाँले आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले चुनावमा सूचना प्रविधिको दुरुपयोग हुन नदिन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार  १६ : ४७  बजे