गगन पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु लोकतन्त्र माथिको षड्यन्त्र–देउवा पक्ष

काठमाडौं, २ माघ ।  शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग पुग्नुलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा अर्थ्याएउनुभएको छ । पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूसहित दलबलका साथ शुक्रबार निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगका पदाधिकारीसामु गगन थापा नेतृत्वको कांग्रेस आधिकारिका लागि पुग्नु लोकतन्त्र माथिको षडयन्त्रको संकेत भएको बताउनुभयो।

‘नेपालको संविधानमाथि, नेपालको लोकतन्त्रमाथि, नेपालको हामीले गरेको परिवर्तनमाथि जुनखालको गम्भीर षडयन्त्रका संकेतहरू देखिन थालेका छन्,’ उहाँले भन्नुभयो ‘त्यही षडयन्त्रको ठूलो संकेतको रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी कांग्रेसको दाबा गर्न आयौं भनेर सञ्चार माध्यमबाट जानकारी पायौं ।’कार्यवाहक सभापति खड्काले १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमिति नै कांग्रेसको आधिकारिक भएको जिकिर पनि गर्नुभयो । उहाँले आधिकारिकता दाबी गर्दै कागजातहरु कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाउनुभएको छ ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार  ११ : ५१  बजे