कांग्रेसमा शक्तिको होइन विचारको सङ्घर्ष चलेको छ –गगन थापा

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा बाहिर देखिएजस्तो झगडा नभएको बरु त्यो विचारको सङ्घर्ष रहेको बताउनुभएको छ ।पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले कतिपयलाई अहिले कांग्रेसमा झगडा वा शक्तिको सङ्घर्ष चलिरहेको जस्तो लागे पनि यो शक्तिको सङ्घर्ष नभइ विचारको सङ्घर्ष रहेको दाबी गर्नुभयो ।

थापाले उहाँले भदौ २३ र २४ गतेको आन्दोलनमा नवयुवाहरूको नभइ देशभरका लाखौँ लाख नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ’राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन् । र आमनागरिकको त्यो रिस जेनजी आन्दोलनका क्रममा सडकमा पोखिएको हो ।’विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि सहभागी होऊन् भन्ने आफूहरूले चाहेको महामन्त्री थापाले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार  २० : ३६  बजे