काठमाडौं, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले पार्टी मात्र नभई समग्र नेपाली लोकतन्त्रलाई नयाँ भरोसा र आत्मबल दिएको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँब्ले प्रतिकूल राजनीतिक परिस्थितिबीच सम्पन्न महाधिवेशनले प्रतिगमनकारी र अराजक शक्तिलाई स्पष्ट सन्देश दिएको बताउनुभएको हो । अध्यक्ष ओलीले भदौ २३ र २४ गते घटेका घटनापछि मुलुक असामान्य अवस्थामा धकेलिएको उल्लेख गर्नुभयो। त्यसपछि लोकतान्त्रिक दल र प्रणालीविरुद्ध नियोजित घृणा, निषेध र आक्रमणको शृङ्खला चलाइएको बताउनुभयो ।
उहाँले जनादेशप्राप्त सरकारलाई विस्थापन गर्ने, प्रतिनिधिसभा विघटन गरी रिक्तता सिर्जना गर्ने र अनिर्वाचित तथा अराजक पात्रहरूले कानुन हातमा लिने दुष्प्रयास गरेको घटनालाई पनि स्मरण गर्नुभयो । उहाँले समाजलाई युवाहरू र वृद्ध उमेर समूहबिच विभाजित गर्ने, राजनीतिलाई विचार र मुद्दाबाट हटाएर ‘नयाँ’ र ‘पुरानो’ को हानिकारक कित्ताकाटतर्फ धकेल्ने प्रयास भएको बताउनुभयो । अध्यक्ष ओलीले अहिलेको राजनीतिक ध्रुवीकरण कुनै विचारधारा, दर्शन वा मुद्दामा नभई विध्वंसलाई वैध ठान्ने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्र जोगाउने भन्ने सवालमा केन्द्रित हुँदै गएको बताउनुभयो। धम्की, घृणा, निषेध र हिंसाका बलमा लोकतान्त्रिक शक्तिलाई किनारा लगाउन नसकेपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेको उहाँको भनाइ छ। अध्यक्ष ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्न सबै लोकतान्त्रिक शक्तिलाई सहकार्यका लागि आह्वान पनि गर्नुभयो। अब लोकतान्त्रिक शक्ति मिलेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष ओलीले ढिलो–चाँडो मुलुक निर्वाचनमा जाने कुरामा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि एमाले सधैँ तयारी अवस्थामा रहनुपर्ने धारणा राख्नुभयो। केन्द्रीय कमिटी बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई निर्वाचनका लागि सधैँ तम्तयार रहन र आवश्यक तयारीलाई तीव्रता दिन आह्वान गरेको उहाले बताउनुभयो ।
उम्मेदवार छनोटका सन्दर्भमा अध्यक्ष ओलीले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाइसकिएको बताउँदै प्रत्यक्षतर्फका सम्भावित उम्मेदवारको सिफारिस प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। केही ठाउँमा ‘एकल सिफारिस’ का नाममा इच्छुक आकाङ्क्षीहरूसँग पर्याप्त परामर्श नगरिएको र कतिपय मातहत कमिटीहरूले तलैबाट सहमति गर्ने प्रयास नगरी धेरै नाम केन्द्रमा पठाएको अवस्थाप्रति उनले ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ओलीले पार्टी नेतृत्वले सिफारिस प्रक्रियाको विश्वसनीयता कायम राख्दै सबै पक्षलाई ध्यानमा राखेर उम्मेदवारको अन्तिम निर्णय गर्ने स्पष्ट पार्नुभयो। निर्णय भइसकेपछि आकाङ्क्षीहरू सहित सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध, दृढ सङ्कल्पित र उच्च मनोबलका साथ निर्वाचन अभियानमा होमिनुपर्ने उहाँले बताउनुभयो ।
नेकपा (एमाले) दोस्रो केन्द्रीय कमिटीको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको सम्बोधन








प्रतिक्रिया