रास्वापासँगको एकता सहज भएन : कुलमान घिसिङ

काठमाडौं, २६ पुस । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको समायोजन सहज नभएको स्वीकार गर्नुभएको छ । आज रामेछाप–काठमाडौं पत्रकार समाजको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै उहाँले रास्वपासँग मिलेर अगाडि बढ्न नसकिने बताउनुभयो ।

हालै मन्त्री पदबाट राजीनामा दिनुभएको घिसिङले वार्ता भइरहे पनि टुंगोमा पुग्न सक्ने सकिने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘उज्यालो नेपाल पार्टी रास्वपामा विलय भइसकेको छैन । हामीले सँगै मिलेर जाने भनेर एकखालको समझदारी गरेका थियौं तर त्यसको कार्यन्वयन जटिल भएको छ ।’

उहाँले आफूहरु अझै पनि संवादको पक्षमै रहेको पनि सुनाउनुभयो । उहाँले थप्नुभयो,‘हामी फेरि पहिलेकै जस्तो नहोस्, जनताको आकांक्षा पूरा गर्न सकेसम्म मिलौं भन्नेमा छौं ।’ एक अर्को प्रसंगमा उहाँले आफू रामेछाप वा काठमाडौं ३ मध्ये एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा रहेको पनि सुनाउनुभयो ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार  १५ : ५४  बजे