विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोकौँ: कांग्रेसका प्रवक्ता महत

काठमाडौं, २६ पुस  । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको सन्दर्भलाई रोक्नुपर्ने बताउनुभएको छ । उहाँले विशेष महाधिवेशन वैधानिक र व्यवहारिक कोणबाट उचित नरहेको दोहोर्याउनुभएको छ ।
पार्टी केन्द्रिय कर्यालय सानेपा ललितपुरमा पत्रकारसँग बोल्दै उहाँले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा अहिले विशेष महाधिवेशन सान्दर्भिक नभएको बताउनुभयो । उहाँले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै संशोधित कार्यतालिकाअनुसार नै अघि बढ्न आग्रह समेत गर्नुभएको छ ।

आउँदो फागुन २१ को चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने भन्दै विशेष महाधिवेशनको सन्दर्भ तत्काल रोक्नुपर्नेमा उहाँको जोड छ । प्रवक्ता महतले कांग्रेस विभाजित हुने नभइ एकढिक्का भएर चुनाव जानु नै उपयुक्त हुने बताउनुभएको छ ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा हुन लागेको पार्टीको विशेष महाधिवेशनको तयारी तीव्र भएको छ । काठमाण्डौको भृकुटीमण्डपमा भोलि र पर्सि विशेष महाधिवेशन गर्न लागिएको हो ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार  १२ : ५०  बजे