काठमाडौं, २६ पुस ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ ।एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बस्नेछ । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनले केपी ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेपछि पहिलो पटक पुस ४ गते पहिलो बैठक बसेको थियो ।
सोही बैठकले आजदेखि पुस २८ गतेसम्मका लागि दोस्रो बैठक बस्ने निर्णय गरेको थियो ।केन्द्रीय कमिटी बैठकमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीका विषयमा छलफल हुने अधिकारीले जानकारी दिनुभयो ।
यस्तै, बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठनका विषयमा पनि छलफल हुनेछ । पार्टीमा यसअघि चुनाव हारेका, पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरूसमेत समेटेर सल्लाहकार परिषद गठन गर्ने एमालेको तयारी छ ।एमालेले यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति र उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाइसकेको छ ।








प्रतिक्रिया