वरिष्ठ पत्रकार तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं, २६ पुस  ।   वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ । उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल ल्याउने क्रममा उहाँको निधन भएको हो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

वि।सं। १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिनु भएका दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र संघर्षका प्रतीकका रूपमा परिचित हुनुहुन्थ्यो । पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत अन्यायका विरुद्ध सत्यको पक्षमा कलम चलाउँदै उहाँले जनताको आवाज बुलन्द पार्न महत्त्वपूर्ण योगदान दिनुभयो ।

स्वर्गीय जीवनाथ दाहाल र नीलकुमारी दाहालका सुपुत्र दाहालले एम।ए। ९नेपाली० सम्मको उच्च शिक्षा हासिल गर्नुभएको थियो । साहित्यिक चेतनाले ओतप्रोत उहाँको पत्रकारिता यात्रा विचार, सिद्धान्त र व्यवहारको सशक्त संयोजनका रूपमा स्थापित रह्यो । उहाँका श्रीमती सुधा दाहाल तथा छोरा सुधांशु दाहाल र हिमांशु दाहाल हुनुहुन्छ ।

पञ्चायतकालमा “राष्ट्रपुकार साप्ताहिक” मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उहाँ पटक–पटक पक्राउ पर्नुका साथै करिब तीन वर्ष जेल जीवन बिताउन बाध्य हुनुभएको थियो। यद्यपि, ती कठिन परिस्थितिले उहाँको साहस र प्रतिबद्धतालाई अझ सुदृढ बनायो ।

दाहालले गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धकका रूपमा कार्यभार सम्हाल्दै नेपालको जेठो सञ्चारगृहलाई समयानुकूल सुधार र प्रगतितर्फ अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उहाँको कार्यकाललाई नेपाली पत्रकारितामा नयाँ आयाम थपिएको समयका रूपमा स्मरण गरिन्छ ।

राजनीतिक क्षेत्रमा पनि उहाँ सक्रिय रहनुभयो । वि।सं। २०६१ मा कृषि तथा सहकारी मन्त्रीका रूपमा कार्यभार सम्हाल्नु भएका दाहाल नेपाली कांग्रेस ९प्रजातान्त्रिक० को केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजकका रूपमा पार्टीको विचारधारालाई प्रवर्धन गर्न सक्रिय हुनुहुन्थ्यो । साथै, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रतिनिधि सभा राज्य व्यवस्था समितिमा निर्वाह गर्नुभएको भूमिका उल्लेखनीय मानिन्छ ।

पत्रकारिता यात्रामा “नयाँ सन्देश साप्ताहिक”का सहायक सम्पादकदेखि “राष्ट्रपुकार साप्ताहिक”का सम्पादक तथा प्रकाशकसम्म रहनु भएका दाहाल नेपाल पत्रकार महासंघका सभापति ९वि।सं। २०४९–२०५१० का रूपमा पत्रकारहरूको हक, हित र अधिकारका लागि अग्रणी भूमिका खेल्नुभयो । प्रेस काउन्सिल नेपालका सदस्यका रूपमा पनि उहाँले प्रेसको मर्यादा र नीतिगत सुधारमा योगदान दिनुभयो ।

साहित्य, राजनीति र समाजका विविध विषयमा उहाँका लेख–रचनाहरू प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयका सभासद्, राष्ट्रिय विकास परिषद् तथा नेपाल अन्धा कल्याण संघका केन्द्रीय सदस्यका रूपमा पनि उहाँको योगदान स्मरणीय छ ।

उहाँको योगदानको कदरस्वरूप प्रेस काउन्सिल पुरस्कार ९वि।सं। २०४६० र महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार ९वि।सं। २०७६० सहित विभिन्न सम्मान प्रदान गरिएको थियो । नेपाल, भारत, अमेरिका, बेलायत, दक्षिणपूर्वी एशिया तथा युरोपका विभिन्न मुलुक भ्रमणले उहाँको बौद्धिक दृष्टिलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गरेको थियो ।

वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनसँगै नेपाली पत्रकारिता, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । सत्य र न्यायको पक्षमा उहाँले देखाउनुभएको अदम्य साहस र निष्ठा नेपाली समाजका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार  ०७ : ५७  बजे