राप्रपाको पार्टी कार्यालयमा समानुपातिक सूचीको विषयलाई लिएर तनाव:खुश्बु ओलीलाई समानुपातिक सूचीबाट हटाउन माग

काठमाडौं, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै महिला नेत्रीहरू पार्टी केन्द्रीय कार्यालय पुगेपछि आज त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको छ।सूची सच्याउन दबाब दिन पुगेका महिला नेतृहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाबीच कार्यालय परिसरमै झडप भएको हो।

महिला नेत्रीहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी कार्यालयमा विज्ञप्ति बुझाएका छन् र अनसनसमेत सुरु गरेका छन्।उनीहरूको आरोप अनुसार, समानुपातिक प्रणालीलाई सीमित व्यक्तिको पारिवारिक स्वार्थका लागि प्रयोग गरिएको छ, जुन पार्टीको सिद्धान्त र जनभावनाविपरीत छ।महिला नेत्रीहरूको विज्ञप्तिमा बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा तथा राप्रपालाई अहिलेसम्म एक मत पनि नहालेको , पार्टीको साधारण सदस्य नरहने गरी कारबाहीमा पर्नुभएकी खुश्बु ओलीलाई समानुपातिक सूचीबाट हटाउन स्पष्ट माग गरिएको छ। साथै, खुश्बु ओलीलाई प्रत्यक्ष चुनाव लड्न पठाइनुपर्ने र समानुपातिक अवसर वास्तविक संघर्षशील कार्यकर्तालाई दिनुपर्ने उहाँहरूको भनाइ छ।

विज्ञप्तिमा परिवारका सदस्य मात्रै समानुपातिकबाट तीन जना र गठबन्धनमार्फत थप एकजना अघि सारिएको उल्लेख गर्दै महिला नेत्रीहरूले कडा आपत्ति जनाएका छन्।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  १६ : २९  बजे