चुनावका लागि प्रहरी भर्ना शुरू

काठमाडौं, २५ पुस । चुनावका लागि प्रहरी भर्ना शुरूआउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउन सरकारले सुरक्षा तयारीलाई तीव्रता दिएको छ । नेपाल प्रहरीले आजदेखि देशभर ‘निर्वाचन प्रहरी’ (साविकको म्यादी प्रहरी) को भर्ना प्रक्रिया शुरू गरेको हो ।

प्रहरी प्रधान कार्यालयकाअनुसार निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने लक्ष्य छ । यसमा नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बलले १५ हजार १ सय १० जनाको कोटा पाएको छ ।गृह मन्त्रालयको स्वीकृतिपछि नेपाल प्रहरीले आजदेखि नै आवेदन खुला गरेको हो ।

देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा इच्छुक उम्मेदवारको लाइन लाग्न थालेको छ ।काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रहरी परिसर र उपत्यकाबाहिरका सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन बुझाउन सकिने व्यवस्था मिलाइएको छ । आवेदन दिने अन्तिम मिति माघ १ गतेसम्म तोकिएको छ ।सार्वजनिक बिदाको दिनमा पनि फारम बुझाउन सकिने प्रहरीले जनाएको छ । निर्वाचन प्रहरी बन्न १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । शैक्षिक योग्यता साधारण लेखपढ गर्न जान्ने भए पुग्छ । उम्मेदवार कुनै राजनीतिक दलको सदस्य नभएको, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको र शारीरिक–मानसिक रूपमा तन्दुरुस्त हुनुपर्छ ।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार  १६ : १५  बजे