काठमाडौं, पुस २४ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र, जटिल कानुनी संरचना र कार्यशैली यथावत् रहँदासम्म नागरिकले अपेक्षा गरेको विकास–निर्माण प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताउनुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको भ्रष्टाचारविरुद्ध तथा प्राविधिक परीक्षणसम्बन्धी अन्तरनिकाय समन्वय गोष्ठीमा कँडेलले यस्तो बताउनुभएको हो ।

“तपाईंहरू स्थायी कर्मचारी हुनुहुन्छ, तपाईंहरूमाथि प्रश्न कम उठ्छ । कहिलेकाहीँ आउने हामी जनप्रतिनिधिमाथि किन बढी प्रश्न उठ्छ रु कर्मचारीको संलग्नताबिना रकम कसरी तलमाथि हुन्छ ? तपाईंहरूको सहीबिना कुनै पनि काम–कारबाही अघि बढ्दैन, उहाँले भन्नुभयो, “सुधारको काममा तपाईंहरू अघि बढ्नुभयो भने मेरो पूर्ण सहयोग रहनेछ ।”उहाँले ढिलासुस्ती, गैरजिम्मेवारी र काम नगर्ने प्रवृत्ति पनि भ्रष्टाचारकै रूप भएको बताउनुभयो । यमै काम नगर्ने, कार्यालय समयमा उपस्थित नहुने र जिम्मेवारी पूरा नगर्ने व्यवहारलाई पनि भ्रष्टाचारको दायराभित्र ल्याउनुपर्ने उहाँको भनाइ छ । तर्साएर मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताउनुभयो। “देशकै सबैभन्दा बढी राजस्व उठाउने मालपोत कार्यालय पानी चुहिने भवनमा सञ्चालन भइरहेको छ । तर, अनुगमन गर्ने निकाय चिटिक्कका भवनमा बस्ने मानसिकताले कहाँ पुर्‍याउँछ ? उहाँले भन्नुभयो ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  २० : ५४  बजे