काठमाडौं, २४ पुस । नेकपा (एमाले) ले पार्टीको आन्तरिक जीवन र आगामी कार्यदिशा स्पष्ट पार्दै ३३ पृष्ठ लामो ‘अन्तरपार्टी निर्देशन–१’ (सर्कुलर) मातहतका कमिटीमा पठाएको छ । बुधबार जारी सर्कुलरमा महाधिवेशनको सन्देश जनस्तरमा पुर्याउनेदेखि युवा परिचालन र नेताहरूको कार्यविभाजनसम्मका विस्तृत योजनाहरू समेटिएका छन् ।
एमालेले आगामी फागुन २१ मा हुने निर्वाचनलाई दृष्टिगत गर्दै युवाहरूलाई पार्टीमा जोड्न ‘युवा केन्द्रित अभियान’ घोषणा गरेको छ । यो अभियानको केन्द्रीय संयोजनको जिम्मेवारी युवा सङ्घका अध्यक्ष क्षितिज थेबेलाई दिइएको छ भने सह–संयोजक मा समिक बडाल रहेका छन् ।यस्तै, सातै प्रदेशमा युवा परिचालनका लागि छुट्टै संयोजकहरू तोकिएका छन्, जसमा कोशीमा मनोज ताम्ली, मधेसमा मोविन आलम, बागमतीमा अमित लामा, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिंह परियार र सुदूरपश्चिममा कमला बोहरा हुनुहुन्छ।
सर्कुलरमा केन्द्रीय तथा प्रादेशिक कामको संयोजन गर्ने नेताहरूको नामावली सार्वजनिक गरिएको छ । यसैगरी पार्टीले आगामी निर्वाचनका लागि रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र अध्यक्ष केपी शर्मा ओलीकै संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ ।
सर्कुलरमा भनिएको छ, ’जुनसुकै अवस्थामा निर्वाचनमा जान पार्टी पङ्क्ति तयार रहनुपर्छ र निर्वाचनलाई आन्दोलनकै रूपमा अगाडि बढाउनुपर्छ ।’एमालेले अबको समय सूचना प्रविधिको भएको भन्दै सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्न निर्देशन दिएको छ । पार्टीका नीति, चुनावी प्रतिबद्धता र उम्मेदवारहरूको प्रचारका लागि ‘डिजिटल क्याम्पियन’ लाई वडा तहसम्म लैजाने योजना ३३ पेज लामो सर्कुलरमा विस्तृत रूपमा व्याख्या गरिएको छ ।सर्कुलरमा राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्ने, संशोधित विधानको सम्पादन र प्रकाशन गर्ने तथा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने जस्ता साङ्गठनिक मुद्दाहरूलाई पनि समावेश गरिएको छ ।
https://drive.google.com/file/d/1KsRauOKi2UBRjB-mTqf4AS4Hvq1xjsrk/view?pli=1








प्रतिक्रिया