कञ्चनजङ्घा आधार शिविर सुनसान

काठमाडौं, २४ पुस  । नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसम अर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।

पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजङ्घाको दक्षिणी आधार शिविर चेइराम, रामजेरलगयात क्षेत्र पनि सुनसान बनेका छन् ।पर्यटन व्यवसायीका अनुसार भ्रमण गर्ने याम सकिएसँगै पर्यटक आउजाउ गर्न छोडेपछि आधार शिविर सुनसान बनेको हो ।

पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले पर्यटकीययाम सकिएपछि पर्यटक आउजाउ गर्न छाडेपछि होटेल व्यवसाय गर्दै आएका व्यवसायी तल्लो बस्तीतिर फर्किएका बताउनुभयो ।यसैबीच, कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो वर्षमा यहाँ आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यस वर्ष भ्रमणको पहिलो याममा ९ सय ५० जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  १२ : ०९  बजे