राष्ट्रियता र सुशासनमा एमालेको ध्यान छ : अध्यक्ष ओली

काठमाडौं, २३ पुस । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि सुशासन र राष्ट्रियताको पक्षमा एमालेले ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुभएको छ ।नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

“उहिले देश विकासमा निकै पछाडि थियो, बाटाघाटा थिएनन्, आजको जस्तो सवारीसाधन थिएन, तर आज बाटाघाटा छन्, सवारीसाधन छन्, अस्पतालहरु छन् र जीवन सहज बनेको छ” उहाँले भन्नुभयो । हाम्रो देशमा विकास भएन भन्ने होइन, विकास भएको छ तर पर्याप्त भएको छैन भन्नुहुँदै अध्यक्ष ओलीले नयाँ चुनौती र समस्याको सामना गर्दै मुलुकको विकास गर्नुपर्ने छ र त्यो सम्भव रहेको उहाँको भनाइ छ । मुलुकको अर्थतन्त्र सबल बनाउन हाम्रा आफ्नै खानीको उत्खनन् र प्रवर्धनको खाँचो रहेको उहाँले बताउनुभयो । त्यसको सुरुवात भइसकेको बताउँदै उहाँले आउने दिनमा त्यसको सदुपयोग गर्नुको विकल्प नभएको उहाँको भनाइ छ । भत्काएर मात्र मुलुक नबन्ने तर भत्केको संरचनालाई क्रमशः पुनःनिर्माण गरेर मुलुक बन्ने भन्नुहुँदै अध्यक्ष ओलीले आत्मनिर्भरताको बाटो लिएर भत्केका संरचनाहरुको पुनःनिर्माण गर्दै जानुपर्ने बताउनुभयो । शान्ति सुव्यवस्था कायम गरेरै मुलुकको विकास सम्भव हुने भन्दै उहाँले विभिन्न बहानामा मुलुकमा अराजकता मच्चाउनेदेखि सावधान रहनुपर्ने बताउनुभयो ।

जनताको मानसिक सबलीकरण ठुलो विषय हो, त्यो नभए सकारात्मक र रचनात्मक काम गर्न नसकिने बताउँदै उहाँले मानसिक अवस्था कमजोर हुँदा प्रतिरोधी क्षमता पनि कमजोर बन्ने उहाँको भनाइ छ । भूतपूर्व सैनिक संगठनहरु मुलुकको शक्ति भएको बताउँदै उहाँले देशको समृद्धिमा पनि भूतपूर्व सैनिकको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।देशलाई जात–जाती, भूगोल, आस्थामा फुटाउने प्रयास भइरहेको बताउँदै उहाँले त्यसलाई निस्तेज पार्ने काममा लाग्न सबैलाई आग्रह गर्नुभयो । आन्तरिक एकतामा सुढृता नभई देश बलियो नहुने भन्दै उहाँले एमालेले राष्ट्रिय एकताको पक्षमा निरन्तर काम गर्दैआएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  २० : ५३  बजे