पूजा महतोलाई वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड

काठमाडौं, २३ पुस । क्रिकेटर पूजा महतो नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडी बनेकी छिन् । पोखरामा आज भएको समारोहमा राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य महतो वर्ष युवा खेलाडी घोषित भएकी हुन् ।

पूजाकै कप्तानीमा १९ वर्षको नेपाली टोली पहिलो पटक महिला विश्वकपमा छनोट भएको थियो । यो अवार्डको मनोनयनमा पूजासहित एथ्लेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समिर तामाङ परेका थिए ।यस्तै खो खो पुरुष र महिला टोली वर्षको टोली घोषित भएको छ । भारतको नयाँदिल्लीमा भएको पहिलो खो खो विश्वकपमा नेपालको पुरुष र महिला दुवै टोली उपविजेता बनेको थियो ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  २० : २४  बजे