भत्काएर देश बन्दैन, नशामा देश बन्दैनः अध्यक्ष ओली

काठमाडौं, २३ पुस  । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताउनुभएको छ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो । हेटौंडामा सरकारले घर भत्काएकोप्रति आपत्ति जनाउँदै उहाँले वर्तमान सरकारले जे पनि भत्काउने काम गरिरहेको बताउनुभयो । ‘यो सरकारले के गर्‍यो ? हेटौंडामा घर भत्काउने काम थियो उसको ? चुनाव गराउन पर्दैन ।

चुनावको वातावरण बनाउन पर्दैन ? हेटौंडामा घर भत्कायो । आधा भत्कायो आधा बाँकी छ,’ उहाँले भन्नुभयो , ‘भत्काउने त बानी परेको छ । भत्काउनेको निर्देशनमा जे पनि भत्काउन थाल्यो यसले । सरकार भत्काएको, डेमोक्रेसी भत्काएको, संविधान भत्काएको, हेटौंडामा भत्काएको, सुकुम्बासीको बस्ती भत्काएको, यो सबै भत्काउने ?’ साथै, उहाँले देश बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएको मान्छे चाहिने उहाँले बताउनुभयो । ‘भत्काएर मात्रै देश बन्दैन । देश बनाउनुपर्छ । बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएका मान्छेको, उन्मादमा नशामा देश बन्दैन,’ ओलीले भन्नुभयो ।

 

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  १६ : ५१  बजे