तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौं, २३ पुस । तराईमधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईका सबैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको र दिउँसो पनिे कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ ।चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् । बालबालिका, वृद्धवृद्धा बिरामी पर्नेक्रम बढेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज मौसम आंशिक बदली छ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ ।आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस रहेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा रहेको थियो ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  ०८ : २३  बजे