रास्वपा उपसभापतिमा सहमति गर्नुभएका कुलमानको दाबी : म कुनै पार्टी सदस्य छैन

काठमाडौं, २२ पुस  । ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नरहेको दाबी गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदका लागि सहमति (सम्झौता) गर्नुभएका घिसिङले कुनै पनि दलको सदस्य नभएको दाबी गर्नुभएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उहाँले दलमा आबद्ध नभएको बताउनुभएको हो ।

प्रश्नकर्ताले सोधेका थिए – तपाईं नागरिकको जगमा बनेको सरकारको मन्त्री हो कि रास्वपाको मन्त्री हो ? त्यसपछि प्रतिक्रिया दिएका घिसिङले भन्नुभयो, ‘म कुनै पनि पार्टीको सदस्य छैन ।’ पुस १४ गते सोमबार राति रास्वपा र घिसिङ संरक्षक रहेको ऊज्यालो नेपाल पार्टीबीच एकता सहमति भएको थियो ।

घिसिङ र रास्वपाबीच भएको सातबुँदे सहमतिमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ साक्षी बस्नुभएको थियो । कुलमानलाई पहिलो वरियताको उपसभापति बनाउने गरी रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएको हो। सहमतिमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने र कुलमानका तर्फबाट उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको थियो । बालेनले साक्षीका रूपमा हस्ताक्षर गर्नुभयो ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार  २० : ०६  बजे