कुलमान भेट्‌न कार्यक्रममा गएको थिएँ, रास्वपाले पार्टी प्रवेशको सूचीमा नाम राखिदिएछ–सांसद चौधरी

काठमाडौं, २२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्वपदाधिकारीका साथै थरुहट÷थारुवान अभियन्ताहरूबीच भएको समायोजन कार्यक्रममा देखिएका सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले आफू कुनै दलमा प्रवेश नगरेको बताउनुभएको छ । सोमबार राष्ट्रियसभा गृहमा भएको एकता समायोजन कार्यक्रममा चौधरी मञ्चमै देखिनुभएको थियो तर, नागरिक उन्मुक्ति दलबाट सांसदमा विजयी चौधरीले आफू कुनै पनि दलमा प्रवेश नगरेको बताउनुभएको हो ।

आफ्नो निर्वाचन क्षेत्रको सडक र पुलका योजना निर्माणका लागि मन्त्री कुलमान घिसिङलाई पहिलेदेखि भेट्न खोजिरहेको थिएँ,’ सांसद चौधरीले भन्नुभयो, ‘हिजो रास्वपाको कार्यक्रममा पुगेका साथीहरूले कुलमान कार्यक्रममा आउने जानकारी दिएपछि उहाँलाई नै भेट्न म पनि राष्ट्रियसभा गृहमा पुगेको थिए । तर, रास्वपा प्रवेशको सूचीमा नाम राखिदिए ।

म पनि झुक्किएर मञ्चसम्म पुगेको थिएँ । तर, म रास्वपमा प्रवेश गरेको छैन ।’ नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले केही समयअघि नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्नुभएको थियो । उक्त एकताबारे पनि आफूलाई कुनै जानकारी नरहेको सांसद चौधरीले बताउनुभयो । ‘मिडियामा अध्यक्षज्यूको हात मिलाएको फोटो देखेको थिएँ,’ सांसद चौधरीले भन्नुभयो, ‘त्योबाहेक हामीलाई कुनै परिपत्र भएको छैन । अहिले पनि हामी नागरिक उन्मुक्तिकै बोर्डमुनि छौँ ।’ चौधरी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा विजयी हुनुभएको थियो। उहाँसँग सुदूरपश्चिम प्रदेशसभामा नाउपाका सात सांसद छन् ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार  १७ : ११  बजे