एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

काठमाडौं, २१ पुस। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।आयोगका प्रवक्ता तथा पूर्वएआईजी विज्ञानराज शर्माले आज सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा भएको जानकारी दिनुभयो ।ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो ।

जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले उहाँको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिदिएको शर्माले जारी विज्ञप्तिमा उल्लेख छ ।आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा साढे २ घण्टा बयान दिनुभएको थियो। त्यस्तै उहाँले आइतबार नै जाँचबुझ आयोगसमक्ष पनि लिखित स्टेटमेन्ट बुझाउनुभएको थियो । आफ्नो निवास भक्तपुरको गुण्डु आएका आयोगका सदस्यलाई उहाँले लिखित स्टेटमेन्ट नै बुझाएका हुन् ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन सरकारमा रहेका केही मन्त्री, सुरक्षा निकायका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुखसहितसँग बयान लिइसकेको छ ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार  १४ : ४४  बजे