कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं, १९ पुस ।काठमाडौँबाट जनकपुरधाम जाँदै गरेको भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा परेर भारतको बिहार राज्य पटना बस्ने ७५ वर्षीय बिजय प्रकाशको मृत्यु भएको हो । यस्तै दुर्घटनामा परेर अन्य दुई जना घाइते भएका छन् ।

शनिबार बिहान साढे ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका १९ जमुनिया स्थित लक्ष्मिनिया–जनकपुरधाम भित्री सडकखण्डमा काठमाडौँबाट जनकपुरधाम तर्फ आउदै गरेको बीआर ०१ एचडी २६८६ नम्बरको कार आफै अनियन्त्रीत भई नहरमा खसेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो । कार दुर्घटना गम्भीर घाइते भएका ७५ वर्षीय प्रकाशको प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।यस्तै, उक्त दुर्घटनामा परेर कार चालक ६२ वर्षीय अजय प्रकाश र उनको श्रीमती रसमी प्रकाश घाइते भएका छन् । तराई मधेसका जिल्लामा शितलहर र हुस्सुको कारण दुर्घटनाको जोखिम बढेको हो ।दुर्घटनामा परेको कारलाई नहरबाट निकाल्ने काम जारी रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार  १२ : २५  बजे