काठमाडौं, १९ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको दाबी गर्नुभएको छ । संसद् पुनःस्थापना पनि नहुने स्पष्ट पार्दै उहाँले वर्तमान राजनीतिक निकासको एकमात्र विकल्प निर्वाचन भएको बताउनुभयो ।
प्रेस सेन्टरले शनिबार खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले सबै राजनीतिक दल अब निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले फागुन २१ गते नै प्रतिनिधिसभा निर्वाचन हुने दाबी गर्नुभयो। निर्वाचन यही सरकारले सम्पन्न गराउने उहाले बताउनुभयो।
प्रचण्डले पछिल्लो समय निर्वाचन नहुने हो कि भन्ने शंका र भ्रम फैलाइएको प्रति आपत्ति जनाउनुभएको । सबै दलहरूले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाइसकेकाले चुनाव नहुने विषयमा कुनै आशंका गर्न नपर्ने उहाँको भनाइ छ । निर्वाचनको सम्पूर्ण प्रक्रिया अघि बढिसकेको छ, अब चुनाव रोकिने कुनै आधार छैन, उहाँले भन्नुभयो।
उहाँले जनताबाट नयाँ जनादेश लिएर प्रतिनिधिसभा गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै वर्तमान राजनीतिक संकटको समाधान पनि त्यही बाटोबाट सम्भव हुने बताउनुभयो । संविधान संशोधनका सन्दर्भमा बोल्दै उनले निर्वाचनपछि पहिचानका सवाल, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था तथा वर्तमान निर्वाचन प्रणालीसँग सम्बन्धित विषयहरूमा आवश्यक परिमार्जन गरिने स्पष्ट पार्नुभयो ।
निर्वाचनपछि प्राप्त जनमतका आधारमा संविधानलाई अझ परिष्कृत र व्यावहारिक बनाइनेछ, उहाँले भन्नुभयो।प्रचण्डले युवा पुस्ता, विशेषगरी ‘जेनजी’ पनि निर्वाचनको पक्षमा रहेको दाबी गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न चुनाव अपरिहार्य रहेको बताउनुभयो। उहाँले निर्वाचन सफल पारेर राजनीतिक स्थायित्व, समृद्धि र समावेशी लोकतन्त्रको दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया