काठमाडौं, १९ पुस । तराई–मधेशका धेरै ठाउँमा आज हुस्सु लागेको छ । लगातार हुस्सु र कुहिरो लाग्दै आएको तराई–मधेशका क्षेत्रमा हिजो र अस्ति दिउँसोपख एक्कैछिन घाम लागेको थियो । तर हिजो बेलुकापछि फेरी हुस्सुले ढाकेको हो ।देशभर नै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ ।
आज दिउँसो उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदलीको सम्भावना छ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।बिहानरबेलुकाको समयमा तराई क्षेत्रमा हुस्सु तथा कुहिरो दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।यसैबीच आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । हिजो काठमाण्डौमा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको थियो ।









प्रतिक्रिया